जुम्ला । जुम्ला सदरमुकाम खलङ्गामा मास्क बैङ्कको स्थापना भएको छ । नेपाल सरकारले शुरु गरेको नेपाल मास्क अभियानलाई थप प्रभावकारी बनाउन जुम्लामा बिहीबार मास्क बैङ्कको स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बिहीबार बजारमा मास्क नलगाएर आउने महिला, बालबालिका ज्येष्ठ नागरिकलाई मास्क दिएर मास्क बैङ्कको उद्घाटन गरेकाहुन । मास्क वितरणकै क्रममा कोरोना सङ्क्रमणबाट बच्न तथा धुलो धुवा र प्रदूषणबाट जोगिनका लागि पनि मास्क अनिवार्य लगाउनु पर्ने भन्दै सम्झाए ।
त्यसका साथै गणपति रविन थापा, सशस्त्र बलका एसपी गगन श्रेष्ठ, नेपाल प्रहरीका डिएसपी दान बहादुर थापाले स्थानीयलाई मास्क वितरण गरेका छन् । हुनेले दिएर जानुहोस् र नहुनेले लिएर जानु भन्ने नाराका साथ जुम्ला बजारको केन्द्र बाल मन्दिर नजिक मास्क बैक स्थापना गरी शुरु गरिएको छ ।
जुम्लाको जिल्ला कोभिड व्यवस्थापन समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सहित सरोकारवालाहरूको समन्वयमा मास्क बैङ्क स्थापना गरिएको हो ।
प्रजिअ प्रसाईँका अनुसार अव बजारमा आउने सबैको मुखमा मास्क हुनुपर्छ । सबै सरकारी तथा गैर सरकारी कार्यालयमा पनि मास्क अनिवार्य गरिने छ । मास्क बैङ्कलाई निरन्तरता दिन तथा स्थानीयलाई राहत दिनका लागि मास्कदाताहरूलाई सहयोग गर्न समेत अपिल गरिएको छ । धेरैजसोले मास्क भएर पनि मास्क प्रयोग नगर्ने तर कोहीको मास्क किन्ने आर्थिक अवस्था समेत नभएको हुँदा यो अभियान महत्त्वपूर्ण रहेको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए ।