☰ open Loading... 19 April 2024|  

पेरिसको यस्तो ठाउँ, जहाँ राखिएको छ ६० लाख मानिसको कंकाल
  | १८ भाद्र २०७८, शुक्रबार ०५:१९

फ्रान्सको राजधानी पेरिस आफ्नो सुन्दरताका लागि विश्वचर्चित छ । संसारभरका करोडौँ मानिसहरु वर्षेनी पेरिस घुम्न जान्छन् । तर त्यहीँ सुन्दर पेरिसमा एउटा यस्तो ठाउँ पनि छ जुन सबैभन्दा डरलाग्दो तथा दर्दनाक छ ।

सो ठाउँको नाम हो क्याटाकम्ब्स अफ पेरिस । यो त्यस्तो डरलाग्दो सुरुङ हो जहाँ ६० लाख जना मानिसका कंकाल राखिएको छ ।

यो सुरुङ १३औँ सताब्दीमा खनिएको थियो । पेरिस सहरको निर्माणका क्रममा ढुंगा, मार्बल आदि आवश्यक निर्माण सामाग्री भण्डारणका लागि उक्त सुरुङको निर्माण गरिएको थियो ।

१७ औँ शताब्दीमा फ्रान्समा अनिकाल, भोकमरी, प्लेग लगायतका महामारीले लाखौँ मानिसको मृत्यु भयो । अवस्था यति भयानक भयो कि मरेका मान्छेका लासले पेरिसका सबै चिहानहरु भरिभराउ भए । लासहरु गाड्नका लागि ठाउँको अभाव भयो जसका कारण लास थुप्रिन थाले । सन् १७८० मा अन्ततः फ्रान्सको सरकारले लासको व्यवस्थापनका लागि उक्त सुरुङको प्रयोग गर्ने निर्णय गर्‍यो ।

चिहानहरुबाट समेत लासहरु निकालेर उक्त सुरुङमा गाडियो । त्यसरी सुरुङमा लास कोच्नका लागि २ वर्षको समय लागेको थियो ।

पछि फ्रान्सेली क्रान्तिमा ज्यान गुमाउने मानिसहरुको लास पनि सोही सुरुङमा अन्त्येष्टि गरिएको थियो । यसरी त्यहाँ ६० लाख भन्दा धेरै मानिसका लासहरु राखिएको थियो ।
लाखौँ मानिसको लास राखिएको उक्त ठाउँलाई केही समयपछि नै फ्रान्सले क्याटाकम्ब अफ पेरिसको नाम दियो र एक संग्राहलयमा परिणत गर्‍यो ।

अहिले उक्त ठाउँ निकै डरलाग्दो हुनुका बाबजुत पनि मानिसहरुको आकर्षणको केन्द्र बनिरहेको छ । सुरुङ भित्र सजाइएका मानव कंकालहरु हेर्नका लागि बर्सेनि लाखौँ मानिसहरु उक्त गुफामा छिर्दछन् ।

यो गुफा २ किलोमिटर लामो छ । सुरुमा जमिनबाट सुरुङमा छिर्ने बेलामा १३० वटा सिँढी झर्नुपर्दछ भने करिब ४५ मिनेट हिँडिसकेपछि ८३ सिँढी चढेर पुनः बाहिर निस्किन सकिन्छ ।एजेन्सी