☰ open Loading... 20 April 2024|  

देउवाको मुख्य प्रतिष्पर्धी को ?
  | १९ भाद्र २०७८, शनिबार ०५:३६

काठमाडौं, । नेपाली काँग्रेसको आजबाट सुरु वडा तहको अधिवेशनसँगै १४औं महाधिवेशनको माहोल तयार भएको छ । वडा तहबाटै जतिसक्दो बढी प्रतिनिधि जिताएर पकड बलियो बनाउने नेताहरु सक्रिय भएका छन् ।

वडाबाट नगर या गाउँपालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रमा हुने निर्वाचन विचारमा भन्दा पनि व्यक्तिमा केन्द्रित भएको छ । यसपटक कस्को नेतृत्वमा काँग्रेस पुग्ने चासोको विषय बनेको छ ।

काँग्रेसभित्र प्रभाव बनाउँदै आएको कोइराला परिवारको हातबाट १३औं महाधिवेशनबाट नेतृत्व सभापति देउवाको हातमा पुगेको थियो । १४औं महाधिवेशनमा पनि देउवा नै सभापितका दाबेदार हुन । तर, उनको हातबाट नेतृत्व फुत्काउन काँग्रेसको उनीविरोधी समूह रणनीतिक उद्देश्यका साथ लागेको छ ।

वडा अधिवेशन सुरु नहुँदै देउवा इतर समूहले साझा सभापतिको उम्मेदवार चयन गर्न सकेन । तर, जो उठेपनि एकजना साझा उम्मेदवार उठाउने निर्णय लियो । यसले वडा तहसम्म देउवाविरोधीहरुलाई एकजुट हुने गरी वातावरण बनाइदिएको छ ।

काँग्रेसको सभापतिको उम्मेदवार घोषणा गर्नेमा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, कल्याण गुरुङ्ग समेत छन् । देउवाविरोधी समूहमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायत छन् । तर, यो समूहबाट साझा उम्मेदवार तय गर्ने सहमति बनेको छ ।

सहमति अनुसार पालना भएमा क कस्ले त्याग गर्ने हुन् चासोको विषय बनेको छ । वरिष्ठ नेता पौडेल ७० कटिसकेकाले एकपटक मात्र भएपनि काँग्रेसको नेतृत्वको दाबेदार बन्छु भनिरहेका छन् । डा. सशांक कोइराला र डा. शेखर कोइरालाले आफू लोकप्रीय भएको र देउवालाई हराउन सक्ने दाबी गरिरहेका छन् । प्रकाशमान सिंह आफ्नो परिवारले पटक पटक त्याग गरेको भन्दै अब अरुले त्याग गर्नुपर्ने बताउँदै आएका छन् । सुजाता कोइराला पहिलो महिला काँग्रेस सभापतिका रुपमा आफू नेतृत्वका लागि सक्षम रहेको भन्दै सहयोगको आग्रह गरिरहेकी छिन् । तर, उनले सहमतिमा त्याग गर्न तयार भएको बताइरहेकी छिन् ।

काँग्रेसभित्र देउवाइतर समूहमा सहमति बन्न मुश्किल छ । तर, प्रयास चलिरहेको छ । सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल ब्याक भएर अर्को उम्मेदवार तय गर्न लागेमा नयाँ सम्भावना विकास हुन सक्छ । उनी आफै पाको नेता भएकाले सबैको साथ पाउने आशामा छन् । तर, सहमतिको मुख्य दायित्व उनकै काँधमा छ ।

पौडेलले सहमतिमा मुख्य भूमिका निर्वाह गरेर साझा उम्मेदवार निक्र्यौल गर्न सके देउवालाई चुनौती छ । त्यसमाथि उपसभापति विमलेन्द्र निधि पनि देउवाको साथ छाडेर गइसकेका छन् । तर, देउवाले पौडेल समूहबाट प्रभावशाली नेताहरुलाई तान्न सक्ने सम्भावना पनि छ । काँग्रेसभित्र देउवाविरुद्ध को मुख्य प्रतिष्पर्धी बन्ला चासोको विषय बनेको छ । यो वडा अधिवेशन हुँदै नगर र गाउँपालिकापछि क्षेत्रमा चयन हुने प्रतिनिधिले पनि प्रभाव पार्ने विषय बनेको छ ।

निर्वाचन क्षेत्रसम्मको अधिवेशन सकिंदा जसको पकड र लोकप्रीयता बढ्छ उही देउवाविरुद्ध खडा भई मुख्य चुनौती दिन सक्छ । तर, त्यो उम्मेदवारका लागि आफ्नो गुट फुट्न नदिने चुनौती पनि महत्वपूर्ण हुनसक्छ ।