☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

मार्सीको माग बढे पनि उत्पादन बढ्न सकेन
  |

जुम्ला । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय जुम्ली मार्सीको माग बढ्दो छ । भर्खरै मात्रै दुई महिना अघि पठाइएको २० टन जुम्ली मार्सी क्यानडा स्थित ९लायम फुड कर्पोरेसन० कम्पन्नीमा पुगेको छ । भने, अस्ट्रेलिया, जापान, भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा मार्सीको माग छ । यता राष्ट्रिय बजारको माग अनुसार मार्सी पुराउनै मुस्किल छ । तर माग अनुसार मार्सीको उत्पादन तथा खेती विस्तार नहुँदा समस्या भएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जुम्लाको कुल कृषि योग्य ३८ हजार हेक्टर जमिन मध्ये २ हजार ९ सय हेक्टर जमिनमा धान खेती हुन्छ । त्यस मध्य पनि जुम्ली रैथाने जातको काली मार्सी धानको खेती १ हजार ६ सय हेक्टरमा भइरहेको छ । भने १३ सय हेक्टर जमिनमा विभिन्न ४ प्रकारका उन्नत जातका धान खेती हुन्छ ।

वर्षौँ देखि जुम्लाको २९ हेक्टर जमिनमा मात्रै काली मार्सी र उन्नत जातको धान खेती भइरहेको छ । माग बढे अनुसार उत्पादन वृद्धिका लागि पनि धान खेतीको क्षेत्र विस्तार हुनु पर्ने हो । वरिष्ठ किसान रामकृष्ण बुढ्थापा भन्छन्,“वर्षामा बाढीले मार्सी फाँट बगरमा परिणत हुने,कतै सिचाइको पहुँच नपुग्ने,कुनै वर्ष असिनाले धामा क्षति पुग्ने कारणले मार्सी उत्पादन घट्दै गएको छ । तर पर्याप्त सिचाइको अभाव, कृषिमा अपर्याप्त लगानी लगायतका कारण जुम्ली मार्सी लोप हुन थालेको हो ।”

सिचाई अभावले मार्सी फल्ने खेतहरू बाँझै छन् । तर वर्षेनि सिचाइमा विनियोजित बजेट बालुवामा पानी जस्तै भएको उहाँको भनाई छ । तथ्याङ्क अनुसार जुम्लामा ५ वर्ष यताकै उत्पादनमा ४० प्रतिशतले गिरावट आएको छ । गएको आवमा वर्षभरि १२ हजार ३ सय ८ मेट्रिक टन मात्रै रैथाने बाली उत्पादन भएको छ ।

जसमा मार्सी धान ६ हजार मेट्रिक टन मात्रै उत्पादन भएको हो । आर्थिक वर्ष २०७४र७६ सम्म करिब २७ हजार मेट्रिक टन हाराहारीमा कृषि उपज उत्पादन भएको जुम्लामा बितेको वर्षमा १२ हजार ३ सय मेट्रिक टन मात्रै उत्पादन भयो । अन्य बाली नाली भन्दा मार्सी धानको उत्पादन हेर्दा वृद्धि भन्दा गिरावट नै भएको छ । वर्षौँदेखि बढीमा ६ हजार मेट्रिक टन भन्दा बढी मार्सी उत्पादन हुन सकेको छैन ।

माग अनुसार मार्सी धानको उत्पादन वृद्धि गर्न सिचाइको विकास, धान खेतीको क्षेत्र विस्तार र मार्सी धान जोन तथा पकेट क्षेत्रका रुपमा विकास गर्न लगानी गर्नु पर्ने वरिष्ठ किसान बुढ्थापाको सुझाव छ । मार्सी उत्पादन नबढ्नुका कारण मध्य सरकारी लगानी अभाव त छदै छ । जुम्लाका केही मार्सी फाँटमा घर निर्माण हुनु, मार्सीभन्दा स्याउ खेतीमा लागेपछि मार्सी उत्पादन घटेको पाइएको छ ।

कर्णाली सुपरफुड्सका सञ्चालक राज बहादुर शाहीले भर्खरै मात्र २० टन मार्सी क्यानडा पुगेको र अन्य देशमा पनि मार्सीको माग बढ्दै गए पनि उत्पादन नबढ्दा माग अनुसार पुर्‍याउन कठिनाइ भएको बताउनुभयो ।

विगत जस्तो मार्सी धानमा किरा नलाग्ने र माग पनि बढ्दै गएकोले मार्सी खेतीमा जुम्ली किसानको मोह बढेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,“मार्सी धानलाई ब्रान्डका रुपमा स्थापित गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले खरिद गर्न थालेको छ । भने मार्सी खेती विस्तार हुने क्रममै छ ।”

हाल जुम्लामा मार्सी धान खेतमा परिपक्व हुँदै छ । बाला हालेर झुल्न थालेको छ । अर्ग्यानिक जिल्ला भएकोले विषादी प्रयोग गर्न मनाई छ । त्यसैले जुम्ली मार्सी स्वादिष्ट र स्वास्थ्यका लागि लाभदायक हुन्छ । विगतको तुलनामा बाढीले मार्सी फाँटमा क्षति नपुर्‍याए पनि उत्पादन कति हुने यकिन छैन । जुम्लाका आठै तहमा धान खेती हुने भए पनि अधिकांश स्थानमा उन्नत जातको धान खेती भइरहेको छ ।रेडियो नेपाल

प्रकाशित मितिः शनिबार, भदौ २६, २०७८     5:14:57 AM