☰ open Loading... 5 December 2024|  

मुहान सुक्न थालेपछि दैलेख सदरमुकाममा ‘पानी पुनःभरण पोखरी’ बनाईयो
  | १२ आश्विन २०७८, मंगलवार १०:३९

 

दैलेख, – दैलेख सदरमुकाममा बढ्दो शहरीकरणका कारण आसपास रहेका मुहानहरु सुक्न थालेका छन् । मुहान सुक्न थालेसंगै अहिले मुलको जलाधार क्षेत्रमा ‘पानी पुनःभरण पोखरी’ बनाईएको हो ।
सदरमुकाममा तिन वटा मुहान क्षेत्रमा पानी पुनःभरण पोखरी बनाईएको छ ।

सदरमुकामस्थित नर्सरी धारा, रानी धारा र बागवानी धाराको जलाधार क्षेत्रमा पुनःभरण पोखरी बनाईएको छ । पुनःभरण पोखरी पहिले भएपनि घर तथा सडक बनाउँदा हराएर गए । त्यसपछि वर्षेनी मुहान पनि सुक्दै जाँदा पानीको हाहाकार समेत दैलेख बजारमा हुने गरेको थियो । टाढाटाढाबाट खानेपानीका योजनाहरु दैलेख सदरमुकाममा ल्याएकाले यस्ता मुहान संरक्षणमा चासो नदेखाईरहेको बेला खानेपानी, सिचाइं तथा उर्जा विकास कार्यालयको नेतृत्वमा नेपाली सेना, डिभिजन वन, जिल्ला प्रशासन तथा संघसंस्थाहरुको सहकार्यमा दिगो विकास लक्ष्यको कार्यसप्ताह कार्यक्रमको अवसरमा असोज १ देखी १० गतेसम्म सदरमुकामका तिन वटा मुहानमा पानी पुनःभरण पोखरी निर्माण, मुल संरक्षण, सरसफाई तथा वृक्षारोपण गरिएको थियो ।

वर्षातमा पानी संकलन हुने (पानी पुनःभरण पोखरी) पोखरी निर्माणसंगै मुहान पुरानै अवस्थामा आउने जनाईएको छ । पहिले सुक्खा मौसममा यहाँका मुलहरु ठुला हुने र एकै छिनमा पानी भर्न सजिलो हुने गरेको गणेश चौकका स्थानीय यज्ञराज रेग्मीले बताए । मुलमाथि घर, सडकदेखी विकास अन्य गतिविधि बढेकाले अहिले मुहान सुकेको स्थानीय रेग्मीको बताए । विकासका नाममा मानविय क्रियाकलाप बढ्दै जाँदा मुहानहरु सुक्दै गईरहेको खानेपानी, सिचाइं तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख अशोक गौतमले बताए ।