☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
नेपालगन्जको भाटभटेनी सुपरमार्केटमा म्याद गुज्रेका खाद्यवस्तु, बेकरी उद्योग नै अवैध
  |

नेपालगन्ज ।

देशभर स्तरीय सेवा दिने दावी गर्दै आएको भाटभटेनी सुपरमार्केट नेपालगन्ज शाखामा म्याद गुज्रेका खाद्यवस्तु बिक्री गरिरहेको पाइएको छ । गुणस्तरीय वस्तु बिक्री हुने विश्वासका साथ नागरिक भाटभटेनीमा सामग्री खरिदका लागि जाने गर्दछन् ।

तर, सोही सुपरमार्केटमा म्याद गुज्रेका अर्थात अदाद्य वस्तु बिक्री भइरहेको पाइैको छ । सुपरमार्केटमा बिक्रीका लागि उत्पादन हुने बेकरी जति सबै म्याद गुज्रेर खान नमिल्ने अवस्थामा भए पनि बिक्री वितरण हुँदै आएको खुलाशा भएको हो ।

मंगलबार उपभोक्ता हित संरक्षण समितिले नेपालगन्ज भाटभटेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको बिक्री हुने आशंकाले समितिले अनुगमन गरेको थियो । नभन्दै अनुगमनमा म्याद गुज्रेका बेकरी उत्पादन बिक्री हुँदै आएको पाइएको
हो । त्यो पनि निकै ठूलो परिमाणमा अखाद्य बेकरी उत्पादन बरामद भएको छ ।

अनुगमनका क्रममा भाटभटेनीको बेकरी उद्योग पनि अवैध रुपमा सञ्चालन भएको पाइएको छ । जिल्ला प्रशाशन कार्यालय बाँके, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मंञ्चको संयुक्त अनुगमन समितिले बजार अनुगमनका क्रममा नेपालगञ्ज–१८ सुर्खेतरोडमा ‘अपरक्राष्ट प्रालि चुच्चेपाटी काठमाडौ’को नामले सञ्चालनमा रहेको बेकरी उद्योगबाट म्याद गुजे्रको बेकरी उत्पादन गर्ने कच्चा पदार्थ भेटिएको छ ।

अनुगमन टोलीमा रहेका जिल्ला प्रशाशन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले बेकरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ काठमाडौंबाट ल्याइएको र सबैको म्याद गुजे्रको अवस्थामा भेटिएको जानकारी दिए । नेपालगन्जको सुर्खेतरोडमा नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अगाडिको घरमा उद्योगको कुनै पनि बोर्ड नराखी सञ्चालन गरेको अवस्थामा अनुगमनको क्रममा भेटिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विवेक कुमार सुवेदीले बजार अनुगमनका क्रममा नेपालगन्ज बजारका केही होटल तथा सपिङ मलमा यस उद्योगको उत्पादनहरुमा उत्पादन मिति, म्याद समाप्त हुने मिति उल्लेख नभएको अवस्थामा पाइएको बताए ।

खोजी गर्दै जाँदा सुर्खेतरोडमा उद्योगको कुनै बोर्ड नराखी, खाद्य अनुज्ञापत्र समेत नलिएर सञ्चालनमा रहेको अवस्थामा गोदाम भरी प्रयोगका म्याद गुजारेका बेकरी उत्पादन गर्न आवश्यक पर्ने कच्चा भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनको भनाइ छ । उनले भने, ‘काठमाडौंमा दर्ता रहेको उद्योगले बाँकेमा घरेलुमा मात्र दर्ता भएको छ । खाद्य अनुज्ञापत्र पनि छैन ।

उद्योगबाट उत्पादन भएका सामानमा उत्पादन मिति तथा प्रयोग गर्ने मिति उल्लेख भएको छैन । हिजोदेखि खोजी गर्दा बल्ल उद्योग भेटियो उद्योगमा हेर्दा बेकरी उत्पादनमा प्रयोग हुने सबै सामग्री म्याद नाघेका मात्र छन् ।’

उद्योगले मानव स्वास्थ्यमा नै गम्भीर असर पर्ने खालको गुणस्तरहीन सामान प्रयोग गरेर बेकरी उत्पादन गर्ने कम्पनी र बिक्री गर्ने नेपालगन्जको भाटभटेनी सुपरमार्केट र रोयल क्याफेलाई पनि अनुसन्धानको घेरामा ल्याउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका प्रभात कुमार ठकुरीले बताए ।

यसैबीच, अपरक्रष्ट प्रालि चुच्चेपाटी काठमाडौंको नेपालगन्ज शाखाका प्रबन्धक विपुल बमले कारखानामा सप्लायर्सले भुलबस म्याद गुजारेको कच्चा पदार्थ पठाएकोले आफूहरुले सबै सामान फिर्ता पठाउने तयरी गर्दै गर्दा संयुक्त अनुगमन समितिले फेला पारेको दाबी गरे ।

उद्योगले म्याद गुजारेको कच्चा पदार्थ प्रयोग गरी बेकरी उत्पादन नगरेको बताए । उक्त बेकरी उद्योगबाट उत्पादन हुने बेकरी आईटम नेपालगन्जको भाटभटेनी सुपरमार्केट र रोयल क्याफेमा विक्री वितरण हुँदै आएको थियो ।

कारखानामा बेकरी उत्पादनको लागि प्रयोगमा आउने सामग्रीहरु नै म्याद गुजे्रकोे बरामद भएपछि सबै उत्पादन नष्ट गर्नको लागि भाटभटेनी तथा अन्य स्थानबाट बेचबिखन रोकेर फिर्ता उठाउन निर्देशन समेत दिएको खाद्य निरीक्षक सुवेदीले जानकारी दिए ।

उक्त टोलीमा नेपालगन्ज उपमहानगरका प्रविण रानालगायत सहभागिता थियो । उद्योगलाई उपभोक्ता हित विपरित संचालन गरेको अभियोगमा २ लाख जरिवाना गरिएको छ । बरामद गरिएको ब्रेड, पाउरोटी, केक, डुनट र सो बनाउने म्याद गुजारिएको अवस्थाका कच्चा पदार्थ २ लाख २२ हजार ६७ रुपैया बराबरको सामाग्री मुचुल्का तयार गरी नष्ट गरिएको छ ।

सबैभन्दा विश्वासिलो भनिएको भाटभटेनीमै यस्तो अखाद्य वस्तु बिक्री हुने गरेको पाइएपछि उपभोक्ता सशंकित बनेका छन् । गुणस्तरीयताका नाममा भित्रभित्रै उपभोक्ताको स्वास्थ्यमा हानी पु¥याउने अखाद्य वस्तु बिक्री वितरण हुँदै आएको पाइएपछि अन्य वस्तुमा पनि शंकाको नजरले हेर्नुपर्ने अनुगमन समितिले निष्कर्ष निकालेको छ ।




प्रकाशित मितिः बुधबार, अशोज १३, २०७८     5:56:59 PM