☰ open Loading... 20 April 2024|  

२वर्षदेखि तलब पाएनन् शिक्षकले
  | २६ आश्विन २०७८, मंगलवार ०५:३३

 

 

 

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतबाट भर्ना गरिएका झन्डै डेढ दर्जन शिक्षकले २ वर्षदेखि तलब पाएका छैनन् । विद्यालयको आफ्नै स्रोत नहुँदा शिक्षकहरू तलबबाट वञ्चित भएका हुन् ।

नगरपालिकाले विद्यालय सञ्चालन नभएको भन्दै सामुदायिक विद्यालयहरूको प्रतिविद्यार्थी अनुदान रोकेको छ । जसका कारण निजीस्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएको हो । तलब नपाउँदा दसैं मनाउन समस्या भएको भैरव आधारभूत विद्यालयका शिक्षक प्रकाश बुढाले बताए । उनले निजीस्रोतमै १२ वर्षदेखि पढाइरहेका छन् । ‘अरू बेला त तलब पाइएन पाइएन, दसैंका बेलासमेत बेखर्ची बन्नुपरेको छ,’ उनले भने, ‘तलब नपाउँदा घरखर्च धान्न गाह्रो भएको छ ।’ दुई वर्षयता आफन्त र साथीहरूसँग सापटी मागेर जीविकोपार्जन गर्न बाध्य भएको उनको गुनासो छ ।

 

भैरव आधारभूत विद्यालयका अर्का शिक्षक युवराज बिष्टले दुई वर्षदेखि तलब नपाएपछि बाध्य भएर राजिनामा दिएको बताए । उनलाई विद्यालयले निजीस्रोतबाट तलब पाउने गरी निम्न माध्यमिक तहको विज्ञान शिक्षकका रूपमा नियुक्त गरेको थियो । ‘विद्यालयकै हितका लागि कुनै बेला एक गाँस खाएर पनि पढाइयो,’ उनले भने, ‘आज तलब आउला, भोलि आउला भन्दाभन्दै २ वर्ष बित्यो, अन्तिममा राजीनामा दिन बाध्य भए ।’ उनका अनुसार विद्यालयका ३ शिक्षकले तलब पाउन बाँकी छ । जयनेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले पनि तलब पाएका छैनन् ।

‘तलब नपाउँदा उत्साहपूर्वक मनाउनुपर्ने दसैं पनि खल्लो भएको छ,’ उनले भने, ‘अरू जागिर पनि पाइँदैन, विद्यालयले पनि तलब दिँदैन, कसरी घरखर्च टार्ने रु’ उनले तलब पाउने आशामा विद्यालय छाड्न नसकिएको बताए । उनले पनि आफन्तसँग सरसापट गरेर र पसलबाट उधारो सामान ल्याएर घरखर्च टारिरहेको गुनासो गरे । विद्यालयले तलब खुवाउन कुनै पहल नगर्दा घरको न घाटको भएको उनको भनाइ छ । विद्यार्थीको भविष्यका लागि पनि विद्यालय छाड्न नसकिएको उनले बताए ।

निजीस्रोतमा राखिएका मात्र होइन नगरपालिकाले अनुदानमा भर्ना गरेका ६ शिक्षक पनि माघदेखि तलबबाट वञ्चित छन् । विद्यार्थीबाट उठाउने स्वैच्छिक शुल्कबाहेक विद्यालयको अर्को कुनै आम्दानी नहुँदा शिक्षकलाई तलब खुवाउन समस्या भएको भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले बताए । ‘विद्यालय नखुलेको भन्दै नगरपालिकाले अनुदान रोकेको छ,’ उनले भने, ‘सरकारले न दरबन्दीअनुसार शिक्षकको व्यवस्था गर्छ, न निजीस्रोतका शिक्षकलाई तलब ।’