☰ open Loading... 7 December 2024|  

जुम्लामा चाडपर्व लक्षित सहुलियत खाद्यान्न सकिँदै
  | १२ कार्तिक २०७८, शुक्रबार ०६:०२

जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यान्न जुम्लामा सकिन थालेको छ । दशैअवधिमै नागरिकले अत्यधिक रुपमा खाद्यान्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो ।

खाद्य तथा व्यापार कम्पनीले दशै तिहार छठलाई लक्षित गरेर जुम्लाका लागि एक हजार क्वीइन्टल छुटाएको थियो । जसमा यहाँका ७ गाउँपालिकालाई ७ सय क्वीइन्टल र चन्दननाथ नगरपालिकालाई ३ सय क्वीइन्टल कोटा छुट्ट्याइएको थियो । तर छुट सुविधाको चामल लिनेहरूको भिड लागेपछि सबैलाई मिलाएर दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताउनुभयो ।

उहाँले भन्नुभयो,“छठ पर्व सम्म भनेर जुम्लाका लागि १ हजार क्वीइन्टल छुटाइएको थियो । बिहीबार सम्मको रेकर्ड अनुसार ९ सय २२ दशमशल ६० क्वीइन्टल चामल बिक्री भइसकेको छ । अहिलेकै दरमा विक्री भए तिहार छठ सम्म छुट सुविधाको खाद्यान्न अभाव हुने देखिन्छ ।”

हाल छुट सुविधाको खाद्यान्न करिब ७८ क्वीइन्टल मात्रै बाँकी छ । चामल लिनेहरूको भिड नरोकिएकोले थप एक हजार क्वीइन्टल चामल पठाउन माग गरेको व्यापार कम्पनी जुम्लाका प्रमुख सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ हजार क्वीइन्टल माग भए पनि ५ सय क्वीइन्टल पठाउने केन्द्रले बताएको छ । गएको असोज १ गतेबाट शुरु भएको छुट सुविधाको चामल हाल सम्म जुम्लाका १५ सय ३७ जनाले लिएका छन् ।

उहाँले थप्नुभयो,“बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएकाले छुट सुविधाको चामल लिने सर्वसाधारणको अझै भिड लाग्ने सङ्केत छ । तिहार छठ नजिकिँदै छ । चामल सकिन थालेको छ । त्यसैले छिटै १ हजार क्वीइन्टल माग गरेको छु ।”

सबैभन्दा बढी यहाँको पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका नागरिकले छुट सुविधाको चामल प्रयोग गरेका छन् । अन्य स्थानीय तहले न्यून प्रयोग गरेका छन् । हाल सम्म ४ लाख ६३ हजार बराबरको छुट सुविधाको चामल विक्री भएको खाद्य प्रमुख तिलक सुनारको भनाई छ ।

यता तातोपानी २ का धन बहादुर बुढाले बाढीले धानमा क्षति भएको हुँदा किसान यस वर्ष सरकारी अनुदानकै चामलको भरमा रहेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष सरकारले जुम्लामा सरकारी खाद्यान्नको कोटा बढाउन आवश्यक छ । सरकारी अनुदानकै चामल पनि अभाव भए जुम्लामा भोकमरी हुने चिन्ता व्यक्त गर्नुभयो ।

खाद्य तथा व्यापार कम्पनीले जुम्लामा हाल थप साढे ७ सय क्वीइन्टल मौज्दात रहेको र थप ६ हजार क्वीइन्टल चामल आयात भइरहेको बताएको छ ।

 

u