☰ open Loading... 29 March 2024|  

विस्फोटका घाइतेले उपचार पाएनन्
  | १३ कार्तिक २०७८, शनिबार ०५:४३

सुर्खेत — एक साताअघि वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा घाइते भएका २ जनाले अझै उपचार पाएका छैनन् । गत शनिबार घाँस दाउरा संकलन गर्ने क्रममा बम विस्फोट हुँदा गुराँस गाउँपालिका–६ दैलेखका १४ वर्षीय नरेश नेपाली र २१ वर्षीया लिला परियार घाइते भएका थिए ।

बम बिस्फोटबाट नेपालीको दाहिने आँखा गुमेको छ भने परियारको शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरूको उपचारमा समस्या भएको हो ।

नेपालीको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा सामान्य उपचार भइरहे पनि उनले थप उपचार नपाएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए । उनका अनुसार सरकारले २०६८ सालमा नेपाललाई बारुदी सुरुङमुक्त राष्ट्र घोषणा गरे पनि विस्फोटबाट मानिसहरू अंगभग हुने क्रम रोकिएको छैन । ‘यस्ता घटनामा सरकारले नै उपचारको प्रवन्ध मिलाउनुपर्छ,’ उनले भने, ‘तर आर्थिक अवस्था कमजोर हुँदा उनीहरूले थप उपचार पाएका छैनन् ।’

यसैबीच, कर्णाली प्रदेशमा क्रियाशील अधिकारकर्मी संस्थाहरूले घाइतेको उपचारको व्यवस्था गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । इन्सेकसहित गैरसरकारी संस्था महासंघ, पत्रकार महासंघ, नेपाल बार एसोसियसन, आवाजलगायत संस्थाले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।