☰ open Loading... 4 December 2024|  

पाठ्यपुस्तक नहुँदा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थी समस्यामा
  | २३ कार्तिक २०७८, मंगलवार १५:२६

जुम्लामा ब्रेल लिपिमार्फत पढ्ने पाठ्यपुस्तकको अभाव भएको छ ।  जुम्लाको सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि  पाठ्यपुस्तकको अभाव भएको हो  ।

कात्तिक पहिलो हप्ता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो ।

अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को पुस्तक नआएकाले पढाइ प्रभावित भएको शिक्षक दत्तबहादुर बुढाले जानकारी दिनुभयो । उहाँले कक्षा ११ को आइनपुगेको र कक्षा १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको बताउनु भयाे ।

जिल्ला विपद् व्यवस्थापन समितिले सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन सकेकाे छैन ।  लामो समयदेखि नेपाल नेत्रहीन सङ्घ र नेपाल दृष्टि कल्याण सङ्घले पाठ्यपुस्तक छापिरहेका छन् ।

नेपाल नेत्रहीन सङ्घका पूर्वअध्यक्ष नरबहादुर लिम्बुले यस वर्ष कक्षा ११ र १२ को पाठ्यपुस्तक छाप्ने कार्यक्रम नै सरकारले नराखेको जानकारी दिनुभयो । पाठ्यपुस्तक नै नछापिएकाले देशभरका ११ र १२ कक्षाका विद्यार्थीहरु अन्योलमा परेका छन् ।