☰ open Loading... 14 December 2024|  

वीरेन्द्रनगरमा दश हजार दर्शक क्षमताको रंगशाला बन्ने
  | २९ कार्तिक २०७८, सोमबार २०:००

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रंगशाला निर्माण हुने भएको छ । वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला बन्ने भएको हो ।रंगशाला निर्माण लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार सम्झौता भएको छ ।

प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको आइतबारदेखि सुरु भएको हो । काठमाडौंको कान्तिपथमा रहेको निर्माण कम्पनी एमएसीजीले रंगशाला निर्माणको ठेक्का लिएको छ ।

२०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न गर्नेगरी काम अगाडि बढाईने परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले बताए ।

रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान बनाइने छ भने आठ लेनको सेन्थेटीक एथलेटिक्स ट्रयाक बनाईनेछ ।

१० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भिआइपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ ।

टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिनेछ ।

रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेलहरू खेल्न मिल्ने परिषद्ले जनाएको छ । रंगशाला निर्माणको लागत १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ रहेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा गरिएको हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले खेलकुदका पूर्वाधार नभएको कर्णालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुदका कार्यक्रम गर्नका लागि प्रदेश रंगशाला निर्माणलाई सरकारले गौरवको योजनाका रुपमा समावेश गरेको बताए ।