☰ open Loading... 25 April 2024|  

विगतमा कहाँ-कहाँ भयो एमाले महाधिवेशन, को-को भए पार्टी प्रमुख ?
  | ६ मंसिर २०७८, सोमबार ०७:०७

नेकपा एमालेको १० औं महाधिवेशनको तयारी तीब्र गतिमा भइरहेको छ । मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशन आउन ५ दिनमात्रै बाँकी रहँदा एमालेका नेताहरु चितवन केन्द्रित भएका छन्। महाधिवेशन व्यवस्थापनको काम धमाधम अघि बढिरहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ईमेज खबरलाई जानकारी दिनुभयो । १० औं महाधिवेशनमा रहेको एमालेका यस अघिका महाधिवेशन बिभिन्न स्थानमा भएका थिए । बिक्रम सम्बत २००६ साल बैशाख १० गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना भएको हो । यसका संस्थापक नेता पुष्पलाल श्रेष्ठ हनुहुन्थ्यो । एमालेले नेपालमा कम्यूनिष्ट पार्टी स्थापना भएदेखि अहिलेसम्म भएका महाधिवेशनलाई नै आधार मानेर आफ्नो महाधिवेशनको गणना गरेको छ । बिगतमा कम्यूनिष्ट पार्टी र एमाले बनेपछि भएको महाधिवेशन र त्यस पछि बनेका पार्टी प्रमुख यसप्रकार छन् ।

पहिलो महाधिवेशन

नेपाल कम्यूनिष्ट पार्टीको पहिलो महाधिवेशन वि.सं २०१० साल माघ १० गतेदेखि २० गतेसम्म ललितपुरको पाटन र काठमाडौंमा भएको थियो । त्यसले मनमोहन अधिकारीलाई महामन्त्रीका रुपमा निर्वाचित गरेको थियो । त्यतिबेला महामन्त्री नै पार्टी प्रमुख मानिन्थ्यो ।

दोस्रो महाधिवेशन

नेपाल कम्यूनिष्ट पार्टीको दोस्रो महाधिवेशन वि.सं २०१४ जेठ १५ गतेदेखि २५ गतेसम्म काठमाडौंको दरवारमार्ग स्थित फोहोरा दरवारमा सम्पन्न भएको थियो । जसले डा. केशरजंग रायमाझीलाई महासचिव चयन गरको थियो ।

चौथो महाधिवेशन

प्रजातन्त्र पुनः प्राप्ति पछि वि.सं.२०४६ भदौ ९देखि १४ गतेसम्म सिरहाको विष्णपुरकट्टीमा चौथो महाधिवेशन भएको थियो । जसले मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्यो । यतिबेलासम्म नेकपा एमाले बनिसकेको थिएन ।

पाँचौ महाधिवेशन

यो महाधिवेशन निकै महत्पूर्ण मानिएको छ । वि.सं २०४७ पुस ११ मा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) को गठन भयो । औपचारिक रुपमा एमाले गठनपछिको यो पहिलो महाधिवेशन हो । एमालेको यो महाधिवेशन वि .सं २०४९ माघ १४ देखि २० सम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशाला र कमलादीमा भएको थियो । यो महाधिवेशनसँगै एमालेले पार्टी प्रमुखका रुपमा अध्यक्ष रहने व्यवस्था गर्यो । यो अधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्यो ।

छैठौं महाधिवेशन
एमालेको छैठौं महाधिवेशन वि.सं २०५४ माघ १२ देखि १८ गतेसम्म बाँकेको नेपालगञ्जमा भएको थियो । यो महाधिवेशनले अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधव कुमार नेपाललाई चयन गरेको थियो । त्यस अघि महासचिव रहनु भएका मदन भण्डारीको २०५० जेठ ३ मा चितवनको दासढुंगामा जीप दुर्घटनमा परेर निधन भएको थियो ।

सातौं महाधिवेशन
एमालेले सातौ महाधिवेशन भने वि.सं २०५९ माघ १८ देखि २२ गतेसम्म धनुषाको जनकपुरस्थित बाह् विघाह रंगभूमि मैदानमा गरेको थियो । त्यसले महासचिवमा माधवकुमार नेपाललाई नै चयन गर्यो । २०५६ वैशाख १३ गते मनमोहन अधिकारीको निधन भएपछि सातौं महाधिवेशनमा एमालेले अध्यक्ष पद खाली राखेको थियो ।

आठौं महाधिवेशन

२०६५ फागुन ५ देखि १४ गतेसम्म रुपन्देहीको बुटवलमा एमालेको आठौं महाधिवेशन भएको थियो । सो महाधिवेशनले झलनाथ खनाललाई अध्यक्ष र ईश्वर पोखरेललाई महासचिव चुनेको थियो ।

नवौं महाधिवेशन

एमालेको नवौं महाधिवेशन २०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा भएको थियो । त्यसले केपी शर्मा ओलीलाई अध्यक्ष र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित गरयो ।

दशौं महाधिवेशन

एमालेको दशौं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन नारायणगढ स्थित नारायणी नदी किनारमा हुँनेछ भने बन्दसत्र सौराहमा हुनेछ । दशौं महाधिवेशनमा एमालेले नेतृत्व चयनमात्रै गर्नेछ । गत असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा एमालेले पहिलो विधान महाधिवेशन गरेको थियो । त्यसले पार्टीको नीति, संगठन र विधान पारित गरिसकेकाले दशौं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्न लागेको हो ।

दुईपटक विभाजित

नेकपा एमाले बनेको ३१ वर्षको इतिहासमा दुईपटक विभाजित भैसकेको छ ।
पहिलो पटक २०५४ सालमा बामदेव गौतमले एमाले विभाजन गरेर नेकपा माले गठन गर्नुभएको थियो । तर पछि उहाँ एमालेमै फर्किनु भएको थियो । उहाँले गत भदौमा पनि एमालेको उपाध्यक्ष लगायत सबै पदबाट राजीनामा दिनुभएको थियो ।
त्यस्तै एमालेमा आन्तरिक कलह चर्किएपछि गत भदौ ९ मा पार्टी औपचारिक रुपमा फुटेको थियो । माधव कुमार नेपाल भदौ ९ मा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर एमालेबाट बाहिरिनु भएको छ । फुटेको एमालेको नेतृत्व भने ओलीले गरिरहनु भएको छ । एमालेको दशौं महाधिवेशनमा नेपाल र खनाल हुनुहुनेछैन । नेपालको पार्टीलाई एमालेले महाधिवेशनमा निम्तो समेत दिएको छैन ।

ओली फेरि अध्यक्ष

दशौं महाधिवेशनले केपी शर्मा ओलीलाई नै फेरि अध्यक्ष बनाउने निश्चित नै छ । ओलीलाई टक्कर दिने माधव कुमार नेपाल र झलनाथ खनाल एमालेबाट बाहिरीसक्नु भएको छ । हुनत अहिलेका उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । रावलले आइतबार उम्मेदवारी घोषणा गर्नु भएको हो । यस अघि ओली पक्षका नेताले ओली निर्विकल्प अध्यक्ष भन्दै आइरहेकामा रावलले चुनौती दिनु भएको हो । रावलको उम्मेदवारी अन्तिम सम्म रहिरहन्छ वा ओलीका लागि उहाँ पछि हट्नु हुन्छ भन्ने कुरा केही दिनमै थाहा हुनेछ । तर ओली निकट नेताहरुको भने रावलले उम्मेदवारी दिएपनि ओलीलाई अध्यक्ष बन्नबाट कसैले रोक्न नसक्ने दाबी छ ।