☰ open Loading... 4 October 2022|   मङ्लबार, अशोज १८, २०७९

भट्टीवाल्नी कान्छी
  |

म्याग्दीको एउटा गाउँमा रक्सी बेचेर बस्थिन्,एउटी सुन्दरी। रूप, वचन, व्यवहार सबै राम्रो। भारतबाट घरतिर फर्केका लाहुरेहरू रक्सी खान उनकै सुन्दर मुहार र खुला हृदयका शरणार्थी भएर वरिपरि झुम्मिन्थे। उनका लागि अत्तर,क्रिम,पाउडर, लिपस्टिक, ऐना आदि ल्याउँथे लाहुरे। दश वर्षपहिले त्यहाँ पुग्दा मुस्कानको बर्कोले दुःख छोप्दै कान्छीले भनेकी थिइन्–‘सानी छोरी पालेर बसेकी छु। छोरीको बाउ पोखरामा कान्छी ल्याएर बसेको छ का।’ (म्याग्दीतिर ‘क्या’ भन्नुपर्दा ‘का’ भनिन्छ।)

कान्छी बजारकै छेउमा डेरामा बसेकी थिइन्। लगातार वर्षा हुँदा चौपारीको रक्सी–व्यापार चल्दैन। टिनको छाप्रो बनाएर बस्न पाए हुन्थ्यो भन्थिन् उनी। महिनामा हजारौँ ग्राहक आउँछन्,जान्छन्। कान्छीको दुःख कतै जाँदैन। उता म्याग्दी र कालीगण्डकी अविरल बग्छ, यता कान्छीको आँसु।

हामी नेपालीको नियतिको प्रतिनिधित्व गरेको जस्तो लाग्छ, कान्छीले। अमेरिकाले आफूतिर आकर्षित गर्न नेपाललाई ‘एमसिसी’ लिएर आयो,कान्छीलाई क्रिमपाउडर ल्याइदिए जस्तो। चीनले ‘बिआरआइ’ दियो, कान्छीलाई काइँयो दिए जस्तो। कम्युनिस्टलाई पर्याप्त ‘इस्तेमाल’ गर्न मालामाल गराउने सिआइएको रणनीति कम्बोडियामा देखियो। रोनाल्ड रेगन राष्ट्रपति छँदा उनका राष्ट्रिय सुरक्षा सल्लाहकार ओलिभर नर्थले निकारागुवाका ‘सान्डिनिस्टा’ छापामारलाई ठूलो सहयोग गरेको भन्दै संसद्मै प्रश्न उठ्यो।

त्यहाँका सान्डिनिस्टा गुरिल्लाहरू,कम्बोडियाका पोलपोटहरू, नेपालमा प्रायोजित विद्रोहका अगुवा पुष्पकमलहरू, स्वतन्त्र तिब्बत अभियानका शीर्ष नायक छिरिङ अर्थात दलाइ लामाहरू,चीनका उइगुर नेता दोल्कुन इसा सबैको सम्बन्ध राजा प्रताप मल्ल र किचकन्नीको हड्डी जस्तै जोडिएको पाइन्छ।

साइज–साइजका ‘भट्टीवाल्नी कान्छीहरू’ हरेक दलमा छन्। बुलाकी, नौगेडी, गुन्यु, चोलो र पछ्यौराको रंग र आवरणमात्र फरक छ,आचरण उस्तै छ। चौतारीमा बसेर मुस्कानमय मदिरा बेच्ने कान्छी र सिद्धान्त एवं नैतिकता बेच्नेको तुलना गर्दा कान्छीको स्तर धेरै माथि छ। उनले आत्मा, शरीर, वचन र नैतिकता होइन, रक्सीमात्र बेचिन्।

वामपन्थी नेता सिपी मैनालीले हालै एउटा पत्रिकामा दिएको अन्तर्वार्तामा भनेका छन्– विदेशमुखी राजनीति बोक्ने कांग्रेस, कम्युनिस्ट, राप्रपाले मुलुकलाई दुर्गतिमा पुर्‍याएका छन्। यसबाट मुलुकलाई बाहिर निकाल्नु अहिलेको आवश्यकता हो। यसका लागि एकखाले राजनीतिक शक्तिले मात्र पुग्दैन। कम्युनिस्ट, गैरकम्युनिस्ट, राष्ट्रवादी, प्रजातन्त्रवादी प्रवृत्ति सबै मिल्नुपर्छ।

मैले राजा, देवता, धर्म, परम्परा, संस्कृति सबै मान्नेहरूको राजनीतिलाई राष्ट्रवादी भन्ने गरेको छु। राजालाई मान्नेदेखि खुदै राजा पनि राष्ट्रवादीमा पर्छन्। यी सबै शक्तिले नेपाललाई जोगाउने अजेन्डा बनाएर अघि बढ्नुपर्छ।

मैनालीको तर्क अकाट्य छ। यथार्थ यही हो। कुलिन घरमा जन्मेर ‘झापा विद्रोह’ बाट राजनीतिमा सक्रिय भएका मैनालीलाई पनि अब गणतन्त्रबाट राष्ट्र सुरक्षित रहँदैन भन्ने चेत पलाएको देखिन्छ। उनी भन्छन्– ‘मुलुकको अस्तित्व लोप गर्ने दिशामा गएको धर्म निरपेक्षतालाई ठाउँको ठाउँ खारेज गरौँ।’(साँघु साप्ताहिक, मंसिर ६–१२, २०७८) कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका निस्तेज भएको, संघीयता अत्यन्त महँगो सावित भएको, विदेशी धर्मको प्रभाव बढेको, व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको उनको तर्क छ।

चित्रबहादुर केसीदेखि नारायणमान विजुक्छे (रोहित) लगायत धेरै नेताले संघीयता नेपालमा अभिशाप भएको टिप्पणी गरेका छन्। अधिकांश जनतालाई संघीयता रुचिकर लागेको छैन। एमाले र कांग्रेसका नेताहरू नै माओवादीले संघीयताको ‘घाँडो’ झुड्याइदिएको हुँदा यसलाई तुरुन्त खुर्केर फ्याँक्नुपर्छ भनिरहेका छन्।

एमालेको महाधिवेशनमा यसबारे बहस हुने सम्भावना देखिन्छ। नेपाली कांग्रेसले एमाले भन्दा फरक नीति, सिद्धान्त र आदर्शसहितको नवीन मार्गचित्र बनाएर अघि बढ्ने साहस गरेन भने ती दुई दललाई जनताले ‘आलु–प्याज’ र ‘प्याज–आलु’ मिसिएको तरकारी भनेर बुझ्नेछन्।

लाखौँ जनता रुष्ट भएमा राज्यसत्ता कमजोर हुन्छ। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले हालै भूल स्वीकार गर्दै एक वर्षपछि किसानसामु आत्मसमर्पण गरे। विवादस्पद कृषि कानुन फिर्ता लिए। झण्डै एक वर्षदेखि दिल्लीमा हजारौँ किसानले आन्दोलन गर्दा किसानबीच प्रधानमन्त्री मोदी अलोकप्रिय बने।

भाजपा सरकारका महान्यायाधिवक्ता केके बेणुगोपालले किसान आन्दोलनको दुष्परिणामस्वरूप छुट्टै स्वतन्त्र पंजाव राज्य स्थापित गर्ने प्रयत्नमा खलिस्तान विद्रोह फस्टाउने खतरा देखिएको चेतावनी दिएपछि मोदीले ‘ब्याक गियर’ लगाउनुपरेको थियो।

पंजाव र उत्तरप्रदेशमा केही महिनापछि विधानसभा चुनाव हुने भएकाले भाजपा पतन हुन नदिन किसानका माग पूरा गर्नुपर्ने बुद्धिजीवीहरूले पनि सुझाव दिए। अंग्रेजी दैनिक ‘हिन्दु’ मा कार्यरत पत्रकार निस्तुला हेब्बार भन्छिन्–अरू कारण भन्दा पनि युपी र पंजावमा हुन लागेको चुनावलाई ध्यान दिएर सरकारले कृषि कानुन फिर्ता लिएको हो।

नेपालमा ‘संघीयता चाहिँदैन’ भन्नेहरूले लाखौँ जनताको समर्थन जुटाएर कठिन संघर्षमा त्यसरी नै समर्पित हुने साहस गरे भनेमात्र आआफ्ना स्वार्थ बोकेर नेपाल भत्काउन खोज्नेहरू स्वतः परास्त हुनेछन्। तर कुनै प्रयत्नबेगर गणतन्त्र ढल्छ र ससाना स्वार्थमा विभाजितहरूका बारीमा सुनको सुन्तला फल्छ भनेर सोच्नु ‘सोम शर्माको सातुको कथा’ ठहरिनेछ।

गलतलाई सत्य, अठोट र प्रमाणका साथ असत्य नै हो भन्ने प्रमाणित गर्न हाम्रा वीर पुर्खाले विश्वविजेता ब्रिटिस फौजसँग युद्ध गरे। यता हाम्रा टाठाबाठाहरू युरो, डलर, भारुलगायतका विदेशी धनमा आत्मसमर्पण गरिरहेका छन्। वर्तमान राजनीतिक प्रणालीप्रति दलका नेता र कार्यकर्ताबाहेक सर्वसाधारणमा वितृष्णा बढिरहेको देखिन्छ।

फेसबुकका पिता मार्क जकरवर्गले शक्ति राष्ट्रहरूलाई व्यंङ्ग्य गर्दै भनेका छन्–‘पश्चिमी राष्ट्रका धनाढ्य र हुनेखानेलाई आफ्ना बगैँचामा लोखर्के मर्दा पीर लाग्छ तर अफ्रिकामा कैयन् मानिस भोकले मर्दा कुनै दुःख लाग्दैन।’ हरेक साँझ हजारौँ रुपियाँको मदिरा पिउने र आठ दश हजार रुपियाँको लिपस्टिक दल्ने नेपालका अभिजात्य वर्ग र अधिकांश गरिबको नागरिकतामा ‘नेपाली’ बाहेक कुनै पहिचान मेल खाँदैन।

राजनीति, प्रशासन, जंगी,प्रहरी, वकालत, पत्रकारिता, उद्योग, व्यापार आदिमा लागेर वैध/अवैधरूपले धनार्जन गरेका सीमित मानिस अग्ला पर्खालभित्र छेकिन्छन्। दरिद्रहरू कारखाना, खेत–खलिहान र झुप्रामा देखिन्छन्। भट्टीवाल्नी कान्छीझैँ ती सरल छन् तर जीवन हरेक पलपलमा जटिल बनेको छ, वक्ररेखामा हिँडेको छ।

आशा गर्ने केही ठाउँ बाँकी छन्। प्रचुर जलसम्पदा, ऊर्वर माटो, अनन्त प्राकृतिक स्रोत/साधन सबै छन् नेपालमा। राजकाज चलाउने प्रतिज्ञा गरेर,प्रलोभन र अभिमान त्यागेर, इमानदार रहने वाचा गरेर केही मानिसले प्रयत्न गरे भने राष्ट्रले काँचुली फेर्न सक्छ।

राजा गुणकामदेवले स्थापना गरेको कान्तिपुर सहर (काठमाडौँ) ले सयौँ वर्षअघिदेखि मन्दिर, बिहार, गुम्बा, पोखरी र प्राचीन सभ्यता जोगाएको इतिहास छ। पाँच हजार वर्ष भन्दा पुरानो यहाँको सभ्यताबारे युरोपका सिल्भाँ लेभी (फ्रान्स) र जोसेफ टुची (इटाली) लगायतका विद्वान्ले प्रशंसा गरेका छन्।

आज आएर युरोप–अमेरिकासँग ‘ॐ भवति भिक्षां देहि’ भन्नुपर्ने अवस्था कसरी आयो? यो प्रश्नको उत्तर खोज्दै जाँदा ‘हुँदाखाने’ र ‘हुनेखाने’ वर्गको विभाजन र त्यसबाट उत्पन्न कथा/व्यथासम्म पुग्नैपर्छ। राजनीतिका नाममा हरेक महिना राज्यकोषबाट अर्बौँ रुपियाँ खर्च गरेर हजारौँ बेरोजगारलाई जिन्दावाद/मुर्दावाद भट्याएबापत तलवभत्ता दिइरहनुपर्ने प्रणालीले राष्ट्र अरू कंगाल बन्नेछ र शहर–बजारमा छ्याप्छ्याप्ती हुनेछन्, भट्टीवाल्नी कान्छी र लुटेर पनि रक्सी पिउने विरक्तिएको जमात।

!-- .entry-content --> प्रकाशित मितिः शुक्रबार, मंसिर १०, २०७८     11:14:07 AM