☰ open Loading... 4 December 2024|  

पौडेल समूहबाट भुपेन्द्रजंग शाहीको उम्मेदरवार
  | १६ मंसिर २०७८, बिहीबार १५:५९

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (पौडेल) समुहबाट भुपेन्द्रजंग शाहीको उम्मेदवारी हुने भएको छ । समुहबाट २ जना आकांक्षी उम्मेदवार भएपनि शाही नै सभापतिमा भिड्ने भएका हुन् ।

पार्टीको भातृसंगठन तरुण दलका केन्द्रीय महामन्त्री भएका शाहीले यसपटकको १४ औं महाधिवेशन अन्तरगतको प्रथम प्रदेश अधिवेशनबाट सभापति निर्वाचित हुन उम्मेदवार बनेका हुन् ।

युवा माझ लोकप्रिय बनेका शाहीले देशभर आफ्नो छुट्टै छवि बनाएका छन् । उनी नेविसंघको उपाध्यक्ष र दुई पटक संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा कालिकोट जिल्लाबाट उम्मेदवार बनेका थिए ।

उनले कर्णालीका अन्य जिल्लाहरुमा संगठन विस्तारदेखि पार्टीका गतिविधिमा संगठनात्मक भुमिकामा रहदै आएका छन् ।

शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेश गरेका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधीको हातमा पुग्ने गरी सार्वजनिक प्रस्ताव पेश गरेका हुन् ।

कांग्रेसलाई वैचारिकरूपमा तिखार्दै जाने, साङ्गठनिक रूपमा रहेका समस्या हल गर्दै चुस्तदुरुस्त सङ्गठन निर्माण गर्ने र देश बनाउने गरी काम गर्नुपर्ने उनका प्रस्तावमा समेटिएका छन् ।

उनले समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटकभन्दा बढी अवसर नपाउने व्यवस्था लागू गर्नुपर्ने, पार्टीलाई व्यवस्थित, प्रशिक्षित र सङ्गठित गरेर हरेक गाउँ तहसम्म प्रशिक्षण अभियान चलाउनुपर्नेलगायत विभिन्न सुझाव प्रस्तावमा समावेश गरेको बताए ।

पार्टीमा अग्रज नेताका योगदानको मूल्याङ्कन गर्दै युवाको ऊर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न युवा प्रतिनिधित्व बढाउनुपर्ने, पार्टीको सदस्य संख्याको आधारमा पार्टीको जिल्ला कार्यसमिति र केन्द्रीय कार्य समितिको आकार बढाउनुपर्ने उनको भनाइ थियो ।
कांग्रेस रुपान्तरण गरी पार्टीलाई शसक्त बनाउन आफुलाई मतदान गर्नुपर्ने शाहीको भनाई छ ।

साथै, संस्थापन (देउवा) समुहबाट उम्मेदवारी छनाेट भैसकेका छैन । आकांक्षी उम्मेदवार र नेताहरूबीच छलफल चलिरहेका छ । देउवा समुहबाट ललितजंग शाही, राजिव विक्रम शाह र कालीबहादुर सहकारी चर्चामा छन् । छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भएको छ ।