☰ open Loading... 3 December 2024|  

कालिकोटमा उद्यमशिलता व्यवसाय थालनी तथा बजारीकरण सम्बन्धी ३ दिने तालिम शुरु
  | २१ मंसिर २०७८, मंगलवार ०५:२९

कालिकोट : कालिकोट जिल्लाको मान्ममा समुदायमा आधारित संस्थाहरूको लागि उद्यमशिलता व्यावसाय थालनी तथा बजारीकरण सम्बन्धी ३ दिने तालिम सोमबारदेखि शुरु भएको छ ।

 

मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजीकरण, टिडि एच बिएम जेट जर्मनीको आर्थिक सहयोगमा संचालित ग्रामीण हिमाली क्षेत्रमा दीगो जिविकोपार्जन तथा जैविक बिविधता (शुलभ) परियोजना अन्तर्गत उक्त तालिम संचालन गरिएको हो ।

 

उद्यमशिलता सम्बन्धी नेपाल सरकारको ऐन, नियमहरु सहभागीहरुलाई जानकारी गराउने, उत्पादन गरिएका बस्तुलाई बजारीकरण गर्न सिकाउने, आयआर्जन, जिविकोपार्जन, स्वरोजगार र व्यवसायबारे के के भिन्नता भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराउने उदेश्यले तालिमको अयोजना गरीएको परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत सरोज पन्थीले बताए ।

 

उद्घाटन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक गंगाराम दाहालले कृषिको व्यावसायिक संचालनको लागि सबैभन्दा जानकार किसान भएको बताउँदै उत्पादन र व्यवसाय संचालनको लागि लेखपढ गर्नै पर्छ भन्ने नभएको बताए । उनले नेपाल सरकारले उद्यमशिलता तथा जिविकोपार्जनका लागि विभिन्न कार्यक्रम संचालन गरेकाले त्यसको प्रत्यक्ष फाइदा लिन सबै तालिममा सहभागीलाई अनुरोध गर्दै अब सबै नागरिकले आत्मनिर्भताको लागि कुनै न कुनै कृषि पेशामा लागेर स्वरोजगार बन्नु पर्ने बताए ।

 

उनले कृषि प्रधान देश नेपालमा विदेशी कृषि वस्तुलाई भित्र्याउनु दु:खको विषय भएको बताए । ‘विदेशी कृषि वस्तुलाई नभित्र्याउन केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आत्मनिर्भर उत्पादन तथा कृषिमुखी विशेष योजना बनाई नेपालको बेरोजगारी हटाउन तीनै तहका सरकार एकसाथ लाग्नु आवश्यक छ’ – दाहालले भने ।

 

तालिम उद्धाटन कार्यक्रमको समापनमा आफ्नो भनाइ राख्दै  हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले कर्णाली प्रदेशमा प्रदेश सरकारले प्रदेशलाई अर्गानिक प्रदेश घोषण गर्ने भने पनि अहिलेसम्म हुन नसकेको गुनासो गरे । उनले प्रदेश सरकारको निर्णयलाई पनि सार्थक पार्न कर्णालीका किसानहरुको महत्वपूर्ण भुमिका हुने भएकाले यसमा सबै हातेमालो गरेर लाग्नु पर्ने बताए । उनले कालिकोटमा किसानहरुले उत्पादन गरेका वस्तुका लागि बजारीकरणको समस्या नभएको बताउदै सबै किसानहरुले निर्धक्कका साथ कृषि वस्तुहरु उत्पादन गर्न आग्रह गरे ।

 

तालिम उद्घाटन कार्यक्रममा हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिप कुमार शाही, सदस्य खडानन्द अधिकारी, शुलभ परियोजना संयोजक राजेश गौतम, जिल्ला कार्यक्रम संयोजक गोपाल सिंह कार्की, लेखा अधिकृत लक्ष्मी प्रसाद देवकोटा एवं पत्रकारलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

 

तालिमा कर्णाली प्रदेश अन्तरगत कार्यक्रम लागू भएका तीन जिल्ला मुगु, हुम्ला र कालिकोटका अगुवा किसान एवं कृषि सहकारीका प्रमुख तथा प्रतिनिधि गरि ४० जनाको सहभागिता रहेको छ ।