☰ open Loading... 25 April 2024|  

वडाध्यक्ष खत्रीले गरे आफ्नो तलब भत्ता गरीव, असहाय विद्यार्थीहरुलाई वितरण
  | २१ मंसिर २०७८, मंगलवार २०:५२

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष भूपेन्द्र खत्रीले वडाअध्यक्ष भएवापत प्राप्त गर्ने तलव र भत्ताबाट आफ्नो वडाका विपन्न, गरीव, असहाय र टुहुरा विद्यार्थीहरुलाई छात्रवृत्ति र पोशाकमा खर्च गरेका छन् ।
आफ्नो वडाभित्र रहेका दुई वटा सामुदायिक विद्यालयका दुई दर्जन बढी विद्यार्थीहरुलाई उहाँको तलव र भत्ताबाट छात्रवृत्ति र पोशाक वितरण गर्ने गरिएको छ । उहाँले हरिडिल भूमि माविमा पाँच लाख र जगन्नाथ देवी प्राविमा तीन लाखको अक्षयकोष स्थापना गरेका छन् । वर्षेनी सोही अक्षयकोषबाट एक हजारका दरले छात्रवृत्ति र विद्यालय पोशाक वितरण गर्ने गरिएको छ ।
वडाअध्यक्ष खत्रीले आफूले वडाअध्यक्ष हुँदा प्राप्त गर्ने तलब र भत्ता आफ्नो वडामा रहेका सरकारी विद्यालयमा अध्ययनरत विपन्न, गरीव, असहाय र टुहुरा विद्यार्थीलाई वितरण गर्ने योजना अनुसार दुई विद्यालयलाई बाँडिएको बताए । सम्पन्न विद्यार्थीहरु निजी विद्यालयमा अध्ययन गर्ने र विपन्न समुदायका छोराछोरी सरकारी विद्यालयमा पढ्न आउने हुँदा उनीहरुलाई शिक्षामा सहज बनाउन आफूले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको जानकारी दिए । उहाँले आफूले पाँच वर्षे वडाअध्यक्षको कार्यकालको अन्तिममा आइपुगेको जानकारी दिदैं आगामी दिनमा सरकारी विद्यालयको पूर्वाधार विकासमा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
जगन्नाथ देवी प्राविका प्रधानाध्यापक मिठु कार्कीले वडाअध्यक्ष खत्रीले आफूले प्राप्त गर्ने तलव भत्ताबाट विपन्न बालबालिकालाई छात्रवृत्ति र पोशाक दिएर विद्यालयमा नियमित गराउन सहयोग पु¥याउनु भएको बताइन् । उनले विगत चार वर्षदेखि सो अक्षयकोषबाट छात्रवृत्ति र पोशाक वितरण गर्ने गरिएको जानकारी दिइन् । छात्रवृत्ति र पोशाक वितरणबाट विद्यार्थीका साथै अभिभावकहरु पनि खुशी भएको उनको भनाइ छ ।