| २३ मंसिर २०७८, बिहीबार ०५:४९
रुकुम पश्चिम — उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि बुधबार उनको उद्धार गरिएको हो ।
डोल्पोबुद्ध गाउँपालिका–६, की २५ वर्षीया छेवाङ गुरुङको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उनी हप्तादिन अघि घरमै सुत्केरी भएकी थिइन् । सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निदै गएपछि हेलिकोप्टरमार्फत सुर्खेत पठाएको स्थानीय पेमा गुरुङले जानकारी दिए ।
राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो । व्यवस्थित र सुविधा सहितका अस्पताल, प्रसूतिगृह नहुँदा तथा अरु कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन् ।स्वास्थ्य संस्थामा जान खोजे पनि दक्ष स्वास्थ्यकर्मी नहुने, बिदामा गएको जस्ता समस्या भइरहने स्थानीयको गुनासो छ ।