सुर्खेत- मुगु सदरमुकाम गमगढीमा अघिल्लो महिना भएको आगलागी पीडितहरुलाई कर्णाली प्रदेश सरकारले २५ हजारदेखि चार लाख रुपैयाँसम्म राहत प्रदान गर्ने भएको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले आगलागी पीडितहरुलाई क्षतिको अवस्था हेरेर राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो।
स्थानीय प्रशासनको सिफारिसका आधारमा ८५ परिवारलाई ६१ लाख ८५ हजार राहत रकम जिल्ला प्रशासन कार्यालय मुगुलाई पठाइएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए। प्रदेश सरकारले घरधनी, भाडामा बस्ने र आगलागीबाट खरानी भएका घरमा व्यवसाय गर्नेहरुलाई दुई किस्तामा उक्त राहत रकम उपलब्ध गराउने छ।
प्रवक्ता विष्टका अनुसार १० लाखसम्म घर क्षति भएकाहरुलाई एक लाख, ११ देखि ५० लाखसम्म क्षति भएकालाई एक लाख पचास हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकालाई दुई लाख, एक करोडदेखि एक करोड पचास लाखसम्म क्षति भएकालाई दुई लाख पचास हजार, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षति भएकालाई तीन लाख पचास हजार र तीन करोडभन्दामाथि क्षति व्यहोरोकालाई चार लाख राहत रकम उपलब्ध गराइने छ।
आंशिक घर क्षतितर्फ एक लाखसम्मका लागि २५ हजार, २७ लाखदेखि ५० लाखसम्मलाई पचास हजार र ५० लाखभन्दा माथि क्षति व्यहोरेकाहरुलाई ७५ हजार रकम राहत उपलब्ध गराइने छ।
यस्तै आगलागीबाट क्षति व्यहोरोका व्यवसायीलाई ३० हजारदेखि एक लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। प्रवक्ता विष्टका अनुसार २० लाखसम्म क्षति व्यहोरेका व्यवसायीलाई तीस हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति व्यहोरेकालाई ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति व्यहोरेकालाई ७५ हजार र एक करोडभन्दा माथि क्षति व्यहोरेकालाई एक लाख राहत रकम उपलब्ध गराइने छ।
प्रदेश सरकारले घरभाडा बस्नेलाई २० हजारदेखि ६० हजारसम्म राहत रकम उपलब्ध गराउने छ। १० लाखसम्मको क्षति व्यहोरेकालाई २० हजार, २० लाखदेखि ५० हजारसम्म क्षति व्यहोरेकालाई ४० हजार र ५० लाखभन्दा माथि क्षति व्यहोरेकालाई ६० हजार रकम प्रदेश सरकारले उपलब्ध गराउने छ।
कात्तिक २९ गते मुगुको छायानाथरारा नगरपालिका–१ को गमगढी बजारमा आगलागी हुँदा २१ घरमा क्षति पुगेको थियो। आगलागीबाट घर भाडामा बस्ने ३५ र व्यवसायी २६ जना विस्थापित भएका थिए।