☰ open Loading... 5 December 2024|  

कांग्रेस नेतृत्वका लागि ६ जनाको उम्मेदवारी, ४ जना प्यानलसहित (कसको प्यानलमा को ?)
  | २६ मंसिर २०७८, आईतवार ०५:१७

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।नेतृत्व चयनका लागि शनिबार विहान १० बजेदेखि ५ बजेसम्म तय गरिएको उम्मेदवारी मनोनयन दर्ताको समयभित्र पार्टी सभापतिमा ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टी सभापतिको लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा.शेखर कोइराला, कल्याण गुरुङ र नेपाली कांग्रेस गोरखाका जिल्ला सभापति युवराज न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्यानलको उपसभापतिको लागि विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का तथा महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल मैदानमा हुनुहुन्छ ।

पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर सभापति देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।केन्द्रीय सदस्य डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिको लागि चन्द्र भण्डारी, धनराज गुरुङ तथा महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको छ ।विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले भने प्यानलसहित उम्मेदवारी दिनुभएन ।

देउवा समूहले सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवनबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, कोइराला प्यानलबाट सहमहामन्त्रीमा कमला पन्त, विकास लामा, जीवन परियार, रामकृष्ण यादव, देवराज चालिसे, तेजुलाल चौधरी, वकिल मियाँ र बद्री पाण्डेलाई उम्मेदवार बन्नुभएको छ ।

१३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले भने कुनै पदमा उम्मेदवारी दिनुभएको छैन ।

देउवा समूहबाट पदाधिकारीका आकांक्षी बालकृष्ण खाँण, एनपी साउँद, रमेश लेखक, ज्ञानेन्दबहादुर कार्की, सुनील थापा लगायतका नेताहरू भने केन्द्रीय सदस्यको उम्मेदवारीमा चित्त बुझाउनुपरेको छ ।

यस्तै, सस्थापनइतर पक्षबाट पदाधिकारीका आकांक्षी महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतका नेताहरूले पनि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिनुभएको छ ।

कांग्रेस महाधिवेशनमा आइतमा निर्वाचनअघिकाे प्रक्रिया सकेर साेमबार विहानैबाट मतदानको थालिने केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ।