☰ open Loading... 27 November 2024|  

आयुर्वेद स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा नि:शुल्क
  | २६ मंसिर २०७८, आईतवार ०५:४०

कालिकोट : आयुर्वेद  स्वास्थ्य केन्द्र कालिकोटमा एक महिना अघिबाट भिडियो एक्सरे सेवा नि:शुल्क दिइएको छ । एकातिर विद्युतको अभावले कालिकोटमा रहेका अस्पताल, स्वास्थ्य सेवा केन्द्र, प्राइवेट मेडिकलतिर रहेका स्वास्थ्य सामग्रीहरुले काम गर्न नसक्दा सेवाग्राहीहरुले मर्का खेप्नु परेको छ भने एकातिर चक्रो शुल्क, भनेको समयमा सेवा लिन नपाउनुलगायतका स्वास्थ्य समस्याले यहाँका नागरिकहरुले पीडा भोग्नु परेको छ । कालिकोटमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिकहरुका समस्यालाई मध्यनजर गदै भिडियो एक्सरे सेवालगायत आयुर्वेदबाट दिइने सेवाहरु नि:शुल्क दिदै आएको छ ।

 

सानादेखि ठुला सवै नागरिकहरुलाई स्थानीय जडिवुटिवाट उत्पादित औषधिको माध्यमबाट उपचार गरिरहेकोे केन्द्रले विभिन्न रोगको सफल उपचार गर्ने बताउदै कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा पाइने जडिबुटीबाट औषधि उत्पादन गरी नि:शुल्क सेवा दिदै आएको केन्द्रका वरिष्ठ वैद्य लक्ष्मी प्रसाद पाण्डेले बताए ।

 

कालीकोट जिल्लाका  नगरपालिका र गाउँपालिकामा पाइने अमला, बकाइनो, हर्रो, बर्रो, गुर्जो, जामुन, कुरिल्लोजस्ता विभिन्न जडिवुटीहरु संकलन गरि बिभिन्न रोगको उपचार गर्ने लक्ष राखिएको बैद्य पाण्डेले बताए ।

 

स्थानीयस्तपमा पाइने विभिन्न किसिमका जडिवुटीहरु संकलन गरि औषधि उत्पादन गर्नका लागि स्थानीय तहसंग सहकार्य गदै आयुर्वेदिक औषधिहरु  उत्पादन गरी नि:शुल्क  सेवा गरिरहेको कार्यालय प्रमुख बिरेन्द्र बहादुर केसीले बताए । उनले अहिले आयुर्वेद केन्द्रमा स्नेहन स्वयधन, आमा कार्यक्रम, जेष्ट नागरिक प्रर्वद्धन कार्यक्रम, औषधि निर्माण सेवा, विरामी भर्ना सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम लगाएतका विभिन्न कार्यक्रमहरु नि:शुल्क संचालन गरेको बताउदै नागरिकहरुलाई आयुर्वेद सेवा लिन समेत आग्रह गरे ।

 

खाँडाचक्र नगरपालिका ५ मा दाडिमबोर्ड आयुवेद्र औषधालय, रास्कोट नगरपालिकामा रास्कोट आयुर्वेद औषधालय संचालनमा रहेको कार्यालय प्रमुख केसीले जानकारी दिए ।

 

गाउँ घरमा आर्थिक अभाव र चेतनाको कमीले धेरै नागरिकहरु औषधि उपचारवाट वन्चित रहेको बेला आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न सेवा नि:शुल्क गरेको प्रमुख केसीले बताए ।

 

जुनसुकै विरामीका लागि भिडियो एक्सरे सेवा, वाथ रोगिहरुको लागि जुनसुकै बेला स्टीम बाथ लगायत आयुर्वेद औषधिहरु कार्यालय समयमा भर्ना भए नि:शुल्क रुपमा वितरण गरिने केन्द्रका डा. नवराज बोहराल् बताए ।  आयुवेद्र सेवा प्रभावकारी गराउनका लागि कालिकोटका नागरिकहरुलाई जुनसुकै बेला पनि सहज वातावरण गराउन कार्यालय कर्मचारीहरु अग्रसर रहेको डा. बोहराको भनाइ छ ।

 

आयुर्वेद औषधालयमा विभिन्न किसिमका औषधि उपचार हुने भएपछि कालिकोटका नागरिकहरु हर्षित देखिएका छन् । आयुर्वेद औषधिको महत्व बझुेका नागरिकहरुले सेवा लिए पनि अन्य नागरिकहरु जस्ले आयुर्वेदको महत्व थाहा नपाएकै कारण सेवा लिनेको संख्यामा भने कमी देखिन्छ ।

 

नयाँ व्यवस्थापनका साथ आयुर्वेद औषधिहरु नि:शुल्क पाइने भएपछि यहाँका स्थानीयहरुले जुम्ला, सुर्खेत, नेपालगंजजस्ता शहरमा गएर आयुर्वेद औषधि किनेर खानु पर्ने दिन गएको शुभकालिका गाउँपालिका वडा नं.३ का स्थानीय मुस्कान अधिकारीले बताए । मुस्कान मात्रै हैनन् खाँडाचक्र नगरपालिका वडा नं. ५ की फुलमाया चौलागाईंले ढाड दुख्ने, दमको समस्या, कपाल दुख्ने लगायतका रोगका कारण असहज भएकोमा अहिले आयुर्वेद स्वास्थ्य केन्द्रले औषधि  दिन थालेपछि र दक्ष डाक्टरको साथ पाएपछि आफुलाई सहज भएको बताइन् । जुनसुकै विरामीका लागि कालिकोटमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिकहरुलाई नि:शुल्क  सेवा दिने बताएको छ । केन्द्रले कालिकोटका स्थानीय तहसंग समन्वय गरी आयुर्वेद औषधिका लागि जडिवुटीहरु संकलन गर्ने कामसमेत गरिरहेको छ ।