☰ open Loading... 20 April 2024|  

केन्द्रीय नेतृत्वमा कर्णाली
  | २ पुष २०७८, शुक्रबार ०५:२८

सुर्खेत: ठूला राजनीतिक दलको नेतृत्व तहमा कर्णालीको प्रतिनिधित्व निकै न्यून छ । कर्णालीजस्तो विकट भूगोलबाट राजनीति सुरू गरेर केन्द्रसम्म पुग्न थुप्रै चुनौती छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता राजनीतिक दलहरूमा यो प्रदेशले पदाधिकारी पाउनु चानचुने छैन । विकासका हरेकजसो सूचकाङ्कमा अन्य प्रदेशको तुलनामा पछि छ, कर्णाली । त्यसको असर राजनीतिमा पनि पर्दै आएको छ । जसका कारण कर्णाली राष्ट्रिय राजनीतिको भूमिकामा कमै देखिन्छ । केन्द्रीय राजनीतिमा पश्चिमको दाँजोमा पूर्वी नेपालकै हालिमुहाली छ । पश्चिममा पनि कर्णाली झन् राजनीतिमा पिछडिएको छ । यहाँका नेतालाई पार्टीको नेतृत्वका लागि केन्द्रमा भइरहने ‘सिन्डिकेट’ तोड्न कठिन छ । कर्णाली राष्ट्रिय राजनीतिबाट विगतदेखि नै उपेक्षामा छ । तर, यति हुँदाहुँदै पनि पछिल्लो समय भने कर्णालीले केन्द्रीय राजनीतिमा उपस्थिति बलियो बनाउँदै गएको छ । यही प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरू एकपछि अर्को राजनीतिको शीर्ष तहमा पुग्न थालेका छन् ।

अहिले क्रमशः मूलधारको राजनीतिमा कर्णाली देखिन थालेको छ । पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धाबाटै पदाधिकारी र माथिल्लो तहको जिम्मेवारी लिन थालिएको हो । नेताहरूले आ–आफ्नो पार्टीमा नेतृत्वका लागि दाबी मात्र होइन, प्रतिस्पर्धामा भिडेर आफूलाई अब्बल सावित गरेका छन् । त्यसकै पछिल्लो उदाहरण हुन्, कांग्रेस उपसभापतिमा विजयी पूर्णबहादुर खड्का ।

कांग्रेसको १४औं महाधिवेशनबाट सुर्खेतका खड्का उपसभापति बनेका छन् । योसँगै ठूला राजनीतिक दलको शीर्ष नेतृत्वमा कर्णाली पनि अटाएको छ । कर्णालीले राष्ट्रिय राजनीतिमा बलियो प्रतिनिधित्व जनाएको हो ।

यसअघिको कार्यकालमा मनोनित महामन्त्री भएका खड्काले यसपटक भने निर्वाचनमा प्रतिस्पर्धा गरेर कांग्रेसको उपसभापति जितेका हुन् । दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । उपसभापतिमा उनले सर्वाधिक दुई हजार एक सय २१ मत पाएका छन् । उनी त्यसभन्दा अघि कांग्रेसको सहमहामन्त्रीसमेत भइसकेका थिए ।

बुधवार कांग्रेस उपसभापतिमा विजयी खड्काले अहिले राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गर्दै लगेका छन् । संस्थापन समूहको नेताको रूपमा चिनिने उनी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छन् । खड्काले यसपटक कर्णालीमा समेत आफ्नो समूहको पकड राम्रो बनाएका छन् । कर्णालीको परिणामले समेत उनलाई कांग्रेसको शीर्ष तह पुग्न सहज तुल्याइदिएको हो । उनले देउवाकै टिमबाट उपसभापतिमा उम्मेदवारी दिएका थिए । खड्का देउवा निकट मात्र नभइ हालको सत्ता गठबन्धनमा पनि महŒवपूर्ण भूमिका खेल्ने नेताका रूपमा चिनिन्छन् । खड्काले गठबन्धनको नीति तथा कार्यक्रम बनाउनेदेखि सत्ता गठबन्धनमा कांग्रेसले खेल्ने भूमिकामा पार्टीको प्रतिनिधित्वसमेत गर्दै आएका छन् । कर्णालीमा पार्टीका स्थानीय, जिल्ला र प्रदेश समितिमा आफ्नो समूहको वर्चस्व कायम गराउनु तथा राष्ट्रिय राजनीतिमा खेल्दै आएको पछिल्लो भूमिकाका कारण खड्कालाई उपसभापति बन्न सहज भएको हो ।

केही दिन पहिले मात्रै सुर्खेतकै यामलाल कंडेल र हुम्लाका गोरख बोगटी एमालेको स्थायी कमिटी सदस्य बनेका थिए । उनीहरूसहित एमालेका दर्जन बढी नेता एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुगेका छन् ।

त्यस्तै, माओवादी केन्द्रमा पनि कर्णालीको केन्द्रीय राजनीतिमा पकड स्थापित हुँदै गएको छ । रूकुम–पश्चिमका जनार्दन शर्मा र जाजरकोटका शक्तिबहादुर बस्नेत माओवादी केन्द्रको स्थायी कमिटीमा छन् । उनीहरू दुवै जना पार्टीभित्रका प्रभावशाली नेताहरू हुन् ।

राजनीतिक दलको शीर्ष तहमा पुग्ने कर्णालीकी अर्की नेत्री हुन्, कुन्ती शाही । दैलेखकी कुन्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री बनेकी छन् । उनी पनि प्रतिस्पर्धाबाटै महामन्त्री बनेकी हुन् । यसैगरी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारीमा पनि कर्णालीको सहभागिता रहेको छ । सल्यानका प्रकाश ज्वाला पार्टीको उपमहासचिव छन् ।

कर्णालीका नेता सबैजसो पार्टीका माथिल्ला कमिटीको नेतृत्व दाबी गर्ने र प्रतिस्पर्धाबाटै भए पनि चयन हुन सक्ने अवस्थामा पुगेका छन् । पार्टीका पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कार्यसमितिमा यहाँको प्रतिनिधित्व बढ्दै गएको छ । केही वर्ष पहिलेसम्म हरेक पार्टीको केन्द्रीय सदस्यमा पुग्न नै कठिन हुने कर्णालीले पछिल्ला वर्षहरूमा नेतृत्वमा प्रतिनिधित्व बढाउँदै लगेको हो ।

राष्ट्रिय राजनीतिमा भूगोलको प्रतिनिधित्वले यहाँका नागरिकहरूमा अपेक्षा बढ्नु स्वाभाविक भए पनि त्यसले यस क्षेत्रको समग्र विकासमा ठूलै परिवर्तन भने नभइहाल्ने राजनीतिक शास्त्रका सहप्रध्यापक अर्जुनबहादुर अयडी बताउँछन् । ‘उहाँहरूले मुलुकभरको राजनीति र क्षेत्र हेर्नुपर्छ होला,’ उनले भने, ‘नेतृत्व तहमा पुग्दैमा कर्णालीले मात्र लाभ पाइहाल्ने हुँदैन ।’ अयडीले प्रदेशका लागि केही होला र गर्लान् कि भन्ने अपेक्षा रहेको भन्दै भोलीका दिनमा नेताहरूले खेल्ने भूमिकाले त्यसको निर्धारण गर्ने बताए ।