☰ open Loading... 7 December 2024|  

मूल्यमा गिरावट आएपछि अदुवा उत्पादक किसान चिन्तित
  | ५ पुष २०७८, सोमबार ०५:२७

सल्यान — दुई/तीन वर्षअघि ५० रुपैयाँ प्रतिकेजी अदुवा बिक्री गर्ने शारदा नगरपालिका १४ माल्नेटा ढारखानीका किसान ज्ञानबहादुर घर्तीले यस वर्ष प्रतिकेजी ३० रुपैयाँमै चित्त बुझाउनु पर्‍यो ।

 

अदुवा खेतीबाटै जीवीकोपार्जन गर्दैआएका शारदा नगरपालिका ७ कजेरीका वीरबहादुर रेउलेले पनि प्रतिकेजी २५ रुपैयाँमा अदुवा बिक्री गरे । प्रत्येक वर्ष अदुवा खेती गरी वार्षिक ३ देखि ४ लाख कमाइ गर्दैआएका सिद्धकुमाख गाउँपालिकाका रेशम बोहराले त यस वर्ष प्रतिकेजी २२ रुपैयाँ मात्रै पाए ।

केही वर्षयता अदुवा खरिदकर्ता आउने क्रम पातलो भएपछि स्थानीय किसानहरू भने दुख गरी उत्पादन गरेको अदुवा कम मूल्यमै बिक्री गर्न बाध्य भएको गुनासो गर्छन् । केही वर्षयता जिल्लाभर नै अदुवाको भाउ खस्कँदै गएको किसानहरूको गुनासो छ ।

तीन वर्ष अघिसम्म ४० देखि ५० रुपैयाँ प्रतिकेजी बिक्री हुँदैआएको अदुवा यस वर्ष २५ देखि ३० मा सिमित रहेको छ । अदुवाको माग नै कम हुन थालेसँगै मूल्य पनि खस्कँदै गएको किसानहरू बताउँछन् ।

जिल्लाभरका किसानहरूले खेती गर्दा हुने दुःख र लगानीको भाउ त पाएका छैनन्, पछिल्लो समय भाउमा गिरावट आउन थालेपछि कतिपय किसानहरू नै अदुवा खेतीबाट विस्थापित बनेका छन् ।

देशैभर सबैभन्दा राम्रो बोसे अदुवा उत्पादन हुने जिल्लाको रुपमा सल्यान पनि एक मानिन्छ । अदुवा बिक्री गरेरै वार्षिक ७ लाखसम्म आम्दानी गर्ने किसानहरू पनि उचित मूल्य नपाएपछि निराश बन्ने गरेको बताउँछन् माल्नेटाका किसान दलबहादुर गिरी । गिरीका अनुसार उनले १० क्विन्टल अदुवा बिक्री गरेर यस वर्ष ३ लाख मात्र कमाइ गर्न सके ।

अदुवा खेतीमै निर्भर रहँदैआएका शारदा नगरपालिका माल्नेटाका करिब १ हजार परिवारमध्ये एक हुन् ज्ञानबहादुर घर्ती । वार्षिक रुपमा ७ लाखसम्म आम्दानी गर्ने घर्ती यस वर्ष भने त्यसको आधा रकम मात्रै आम्दानी हुने आकलन गर्छन् । पछिल्लो समय बिचौलिया हाबी हुँदा अदुवाको भाउ खस्कँदै गएको घर्तीको गुनासो छ ।

यस्तै चार रोपनी जग्गामा अदुवा लगाएका बाग्चौर नगरपालिकाका किसान भद्र खडकाले सम्बन्धित निकायले मूल्य निर्धारण नगरिदिँदा र वितरण केन्द्रको व्यवस्था नगरिदिँदा किसानले झमेला व्यहोर्नु परेको गुनासो गरे ।

‘आफूले दुःख गरेर उत्पादन गरेको वस्तु बाध्य भएर अरुले तोकेको मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । तर हामीले घर खर्च चलाउन सामान तथा खाद्यान्न किन्दा भने हामीले मूल्य तोक्न सकिँदैन’ खड्काले भने ।

सल्यानमा किसानले उत्पादन गरेका अदुवा भारतका विभिन्न ठाउँमा सप्लाइ हुने गरे पनि प्रत्येक वर्ष मूल्यमा गिरावट आएपछि त्यसको सम्भावना पनि कम हुँदै गएको किसानहरूको गुनासो छ ।

कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यका अनुसार भारतमा उत्पादन घट्यो वा अन्य जिल्लाबाट सप्लाइ भएन भने यस क्षेत्रको अदुवाको मूल्य बढ्नसक्छ ।

सल्यानका अधिकांश गाउँबाट काठमाडौं, नारायणगढसहित भारत र युरोपमा समेत पुग्ने अदुवा मूल्यमा गिरावट आएसँगै सप्लाइ सिमित बन्दैगएको किसानहरूको भनाइ छ ।कान्तिपुरबाट