☰ open Loading... 5 December 2024|  

सुर्खेतमा मापसे सचेतना कक्षा शुरु
  | १२ पुष २०७८, सोमबार ०५:१७

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मापसे सचेतना कक्षा शुरु गरेको छ । जिल्लामा मापसे गरी सवारी चलाउनेहरुबाट दूर्घटना बढ्न थालेपछि मादक पदार्थ सेवन जाँचलाई पुनः कडाई गर्न लागिएको हो । ट्राफिकले मादक पदार्थ सेवन गरी सवारी चलाउने विरुद्ध सञ्चालन गरेको ४५ मिनेटको कक्षा गत बिहीवारदेखि शुरु भएको छ ।

सुर्खेत ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जिल्लामा ट्राफिक सचेतनासँगै मापसे चेकजाँच अभियानलाई पुनः कडाईका साथ सञ्चालन गर्न लागिएको बताए । ‘कोरोना सावधानी अपनाएर मापसे चेकजाँच गरिने र सकेसम्म मेसिनको प्रयोगलाई कम गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘आवश्यकता अनुसार मापसेलाई अस्पतालमा पुर्‍याएर चेकजाँच गरी कारबाहीको दायरामा ल्याउने छौं ।’

उनले ट्राफिक नियम विपरित कार्य गर्ने सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गर्न लागिएको रहेको जानकारी दिए । उनका अनुसार जिल्लामा २५ प्रतिशत सवारी दूर्घटना मापसे गरी सवारी चलाउनेहरुबाट भएको पाइएको छ । पछिल्लो पाँच महीना यता जिल्लाभरी भएका १४ ओटा सवारी दूर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको पछिल्लो पाँच महीनामा २०५ जनालाई मापसे कारबाही गरिएको उनको भनाइ छ ।

नियमित रुपमा मापसे चेकजाँच अभियान थालेको सुर्खेत ट्राफिकले हालसम्म करीब १०० जनालाई मापसे सचेतना कक्षा दिएको बताएको छ । मापसे सचेतना कक्षाको उद्घाटन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दूर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गराई सडक अनुशासन एवम् सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको औल्याए ।

उनले मादक पदार्थ सेवनकर्ताका कारण सवारी दूर्घटना वृद्धि हुँदा आर्थिक, सामाजिक तथा मानविय क्षती हुने गरेकाले यसलाई रोक्नु सबैको जवाफदेहीता रहेको बताए । ८० प्रतिशत सवारी दूर्घटना चालकको लापरवाहीले हुने गरेकाले ट्राफिकबाट मापसे कक्षा सञ्चालन गरिनु असल अभ्यासको सुरुवात भएको उनको भनाइ थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले कर्णाली प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सचेतना अभियानहरु सञ्चालन गर्नका लागि मन्त्रालयबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले मापसे रोकथाम नियन्त्रण एवम् ट्राफिक सचेतना अभियान सुर्खेतमा मात्र सीमित नराखेर प्रदेशभर सञ्चालन गर्न सुझाव दिए । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले अधिकांश मापसे गरी सवारी चलाउनेहरु मृत्युलोक पुग्ने गरेकाले सडक दूर्घटना चौथो ‘किलर’का रुपमा रहेको बताए ।

उनले कर्णालीमा पछिल्लो पाँच महीना यता २०६ ओटा सवारी दूर्घटनामा परी १०५ जनाको मृत्यु, २०१ जना गम्भीर घाईते र १६० जना सामान्य घाईते भएको जानकारी दिए । अब प्रदेशभरी सडक दूर्घटना न्यूनीकरणका ट्राफिक सचेतनासँगै मापसे अभियानलाई कडाइका साथ लागू गरिने उनको भनाइ थियो ।