☰ open Loading... 7 December 2024|  

हुम्लामा भारी हिमपात, हवाई सेवा बन्द
  | १७ पुष २०७८, शनिबार ०५:११

हुम्ला — भारी हिमपातका कारण मंगलबारदेखि हुम्ला सदरमुकाम सिमकोटमा हवाई सेवा बन्द भएको छ । यातायातको एक मात्र विकल्प हवाई सेवा बन्द भएपछि जरुरी कामका लागि बाहिर जाने र हुम्ला आउने अलपत्र परेका छन् ।

 

जहाजको उडान नहुँदा सिमकोटबाट काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत सहरमा जाने यात्रु विमानस्थलमै अलपत्र परेका हुन् । हिमपातका कारण उडान नहुँदा बाहिर रेफर गरिएका बिरामी पनि अलपत्र परेको सर्केगाड गाउँपालिकाकी स्वास्थ्यकर्मी शिवा शाहीले बताइन् । चिकित्सा सेवा आयोगको परीक्षा दिन नेपालगन्ज जान खोजे पनि जहाज नआउँदा परीक्षा छुट्न थालेको उनको भनाइ छ । उनका अनुसार दैनिक २५ देखि ५० जनासम्म यात्रु विमानस्थलमा आउने गरे पनि उडान नहुँदा फर्किनुपर्ने बाध्यता छ । ‘जहाजको प्रतीक्षा गर्दागर्दै ३ दिन बित्यो,’ उनले भनिन्, ‘शुक्रबारसम्म नेपालगन्ज नपुगे परीक्षा छुट्छ ।’

 

मंगलबार हुम्लाका अधिकांश गाउँमा हिमपात भएको छ । हिमपातका कारण सदरमुकाम सिमकोटमा झन्डै एक फिट हिउँ जमेको छ । त्यस्तै, नाम्खा गाउँपालिकाका लिमी, मुचु, चाला, यालवाङ, यारी, हिल्सालगायत गाउँमा ४ फिटसम्म हिउँ जमेको छ ।

हिमपातका कारण स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको छ । एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न गाह्रो छ । बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका सबै नाका बन्द भएका छन् । सदरमुकाम सिमकोट सुनसान बनेको छ । स्थानीयले आगो ताप्दै काम गरिरहेका छन् । जनजीवन कष्टकर बने पनि किसान भने खुसी छन् । हिउँदे बाली उवा, जौ, गहुँ छरिसकेकाले बाली राम्रो हुने आशले किसान खुसी भएका हुन् । ‘ हिमपात किसानका लागि अनिवार्य हो,’ चंखेली गाउँपालिकाको पुमा गाउँका रामचन्द्र बुढाले भने, ‘हिउँले बालीनाली हुर्कन मद्दत गर्ने भएकाले अतिउत्तम भएको छ ।’