☰ open Loading... 19 April 2024|  

सुर्खेत मेडिकल कलेजको गुरुयोजना तयार
  | १८ पुष २०७८, आईतवार १९:३९

विरेन्द्रनगर नगरपालिका ११ र १३ वडाका बस्तीपुर डाँडाँ र बतासे डाडाँमा मेडिकल कलेजका लागि गुरुयोजना बनाईएको हो। त्यहाँ गुरुयोजना र प्रारम्भिक सर्वेमा ८२ विगा जग्गा अधिग्रहणका लागि तयारी गरिएको छ। ‘गुरुयोजना निर्माण भईसकेको र सर्वेको काम भईरहेको छ।’ सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक हेमकुमार ढकालले भने, ‘अब, वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) हुनेछ। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएपछि निर्माणका कामहरु हुन्छ।’

गत दुई वर्षमा आएको पुँजीगत रकम पनि डिपीआर तयार नुहँदा खर्च भएन्। गत दुई आर्थिक वर्षमा १० करोडका दरले २० करोड आएको नेपाल सरकारले विनियोजन गरेको थियो। यो आर्थिक वर्षमा २ करोड रकम विनियोजन भएको छ।

यो रकमले वातावरणीय प्रभाव मुल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्न खर्च हुने आयोजनाले जनाएको छ।वातावरणीय प्रभाव मुल्याङ्कन सकिएपछि सरकारले कति जग्गा दिने हो त्यसको टुंगो लाग्ने आयोजनाले जनाएको छ। तत्काल वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने कार्ययोजना आयोजनाको रहेको छ।

वन तथा बातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएपछि मात्र अन्य कामहरु सुरु हुनेछ। आईई र डिपिआर गरेपछि भौतिक संरचना तयार गर्न कम्तिमा ५ देखि ६ वर्ष लाग्नेछ। संरचना तयार भएपछि मात्र अस्पताल सञ्चालनका लागि आवश्यक तयारी हुनेछ।

अस्पताल सञ्चालनमा ल्याउन कम्तिमा २ वर्ष लाग्ने आयोजनाको कार्यालयले जानकारी दिएको छ। अस्पताल सञ्चालन भएको ३ वर्षपछि आवश्यक मात्र डाक्टर पढाउन अनुमति पाउने छ। यसका लागि दूत गतिमा काम भए कम्तिमा १० वर्षपछि मात्र सुर्खेतमै डाक्टर पढाई हुनेछ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेज निर्माणका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय २०७६ साल जेष्ठमा स्थापना भएको हो। कर्णालीमा जनसंख्या हेरेर कम्तिमा ६ सय बेडसम्मको अस्पताल बनाउने तयारी भइरहेको जनाइएको छ।

अस्पताल सञ्चालन गर्नुअघि गरिने विभिन्न रिपोर्टहरुको अध्यायन गरेर कति बेडको अस्पताल सञ्चालनमा ल्याउने अन्तिम टुंगो लाग्ने आयोजना निर्देशक ढकालले बताए। भौतिक पूर्वाधार पूर्ण रुपमा निर्माण सकिएपछि अस्पताल चलाउनका लागि प्रकृया अघि बढ्ने छ।

आयोजना कार्यालयले तत्काल मेडिकल कलेज पूर्वाधार निर्माणका लागि डिपीआरको सूचना प्रकाशित गर्ने कार्ययोजना रहेको छ।