☰ open Loading... 19 April 2024|  

बाँकेमा बाघको आतंक : नियन्त्रणमा खटियो प्राविधिक टोली
  | २८ पुष २०७८, बुधबार ०५:३१

बाँकेमा बाघको आतंक : नियन्त्रणमा खटियो प्राविधिक टोली

बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतंक मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।

 

उनका अनुसार उक्त टोलीमा तीनजना प्राविधिक कर्मचारी छन् । बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पुगिसकेको छ । फत्तेपुरको मेमानपुरस्थित सबडिभिजन वन कार्यालयमा  शिविर खडा गरेर प्राविधिक टोली बाघ नियन्त्रणको काममा खटिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलको भनाइ छ ।

 

प्राविधिक टोलीलाई डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक तथा नेपाली सेनाले पनि सहयोग गर्नेछन् । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखि राप्तीपारि क्षेत्रमा दुईवटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ ।

 

बाघ नियन्त्रणमा नआउँदा राप्तीपारिका स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्साेनाकी ५३ वर्षीया लीला विष्टको मृत्यु भएको थियो ।

 

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी–१ गाभर र नरैनापुरमा एक–एक जनाको मृत्यु भएको थियो । बाघले विगत एक हप्तादेखि राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ ।