☰ open Loading... 14 December 2024|  

जोखिम उच्च, व्यवस्थापन फितलो
  | ३० पुष २०७८, शुक्रबार ०६:११

सुर्खेत: कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वातै बढेको छ । पछिल्ला दिनमा संक्रमण दर दैनिकजसो उकालो लागेको छ । मंगलवारसम्म पाँच प्रतिशतभन्दा कम रहेको संक्रमण दर बुुधवार एक्कासी बढेको हो । उक्त दिन परीक्षण गरिएकामध्ये २७ प्रतिशतलाई संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय जनाएको छ । एन्टिजेन र पीसीआर विधिबाट एक सय ३३ जनाको कोरोना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो ।

तीमध्ये २१ जनाको पीसीआर गरिएकोमा १६ जनामा संक्रमण फेला परेको थियो । त्यस दिन ७६ प्रतिशतमा पीसीआर पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै, एक सय १२ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा २० जनामा संक्रमण भेटिएको थियो । पुस २४ गतेयता दैनिकजसो संक्रमण दर बढ्दो क्रममा रहेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । त्यस अघिसम्म प्रदेशमा संक्रमण दर सामान्य थियो । बिहीवार सात जनाको पीसीआर गर्दा चार जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर पोजेटिभ दर ५७ प्रतिशत देखिएको हो । बिहीवार नै ७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १२ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

पछिल्ला दिनमा बढ्दै गएको संक्रमणले कोभिडको तेस्रो लहरको संकेत गरेको हुुन सक्ने जनस्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे गत वर्ष जेठ–असारको नियति दोहोरिन सक्छ । बढ्दो संक्रमण दरले भयावह अवस्था आउन सक्ने आकलन गर्दै भिडभाडजन्य गतिविधि पूर्णरूपमा बन्द गरेर जन स्वास्थ्यका मापदण्ड अपनाउन ढिलाइ गर्न नहुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्का बताउँछन् । उनले छुटेका लक्षित समूहले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने र यस्तो बेला हरेक निकायले स्वास्थ्यकर्मीहरूको समेत मनोबल उच्च राख्नेतर्फ ध्यान दिनुपर्ने जनाए ।

गत वर्ष जेठ–असार महिनामा कर्णालीमा कोरोना संक्रमण दर उच्च थियो । त्यसबेला यहाँ संक्रमणदर ९० प्रतिशतभन्दा माथि पुगेको निर्देशनालयको तथ्याङ्क छ । त्यतिबेला स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावमा कतिपयले उपचार नपाएर ज्यानसमेत गुमाएका थिए । मेडिकल अक्सिजनको हाराकार हुँदा कोरोना विशेष अस्पतालहरूलाई नै संक्रमित बिरामीको उपचार गर्न हम्मेहम्मे भएको थियो । समयमै सतर्कता नअपनाए सोही अवस्था यो पटक पनि आउन सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ ।

ओमिक्रोन जाँच्ने प्रविधि छैन

देशैभर संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला कर्णालीमा पनि संक्रमितको संख्या बढेको छ । यसपटक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम छ । विज्ञहरूका अनुसार यो भेरियन्टको संक्रमण तीव्र गतिमा फैलने गरेको छ । तर, अहिलेसम्म ओमिक्रोन संक्रमण भए÷नभएको पत्ता लगाउने प्रविधि भने कर्णालीमा छैन । यसको परीक्षण राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा मात्र हुुने गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भए÷नभएको पत्ता लगाउने छुट्टै परीक्षण गर्नुपर्ने हुन्छ । लुम्बिनी प्रदेशको बाँकेमा रहेको भेरी अञ्चल अस्पतालमा ओमिक्रोनको परीक्षण गर्ने भनिए पनि सुरु भएको छैन । भेरी अस्पतालमा परीक्षण सुरु भए कर्णालीलाई पनि सहज हुने बताइएको छ ।

यो पटक भेटिएका संक्रमितमा पहिलाको भन्दा फरक लक्षण देखिने गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुुर केसीले विगतको भन्दा भिन्न लक्षण भएका व्यक्तिहरूमा संक्रमण पुष्टि भइरहेको जनाए । ‘निरन्तर खोकी, ज्वरो, स्वाद वा गन्ध परिवर्तन हुने र हराउने, शरिरको पछिल्लो भागका जोर्नीहरू दुुख्नेजस्ता लक्षण भएकालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने, ‘संक्रमण बढ्न थालेपछि परीक्षणको दायरासमेत बढाइएको छ ।’ एन्टिजेन विधिबाट सबैजसो पालिकामा परीक्षण गर्ने व्यवस्था रहेको केसीले बताए । स्थानीय तहमा रहेका सबै स्वास्थ्य संस्थाहरूबाट परीक्षण गर्न सकिने गरी व्यवस्थापन गरिएको हो । अहिले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाको मात्र परीक्षण हुँदै आएको छ । निर्देशनालयले खोप लगाउन छुटेका लक्षित वर्गहरूको पहिचान तथा कोभिडविरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न विभिन्न अभियान सञ्चालन भइरहेको जनाएको छ ।

सरकारी कार्यालयमै भएन सावधानी

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम कम गर्न प्रदेश सरकारले योजना बनाएको छ । तर, उक्त स्वास्थ्य सावधानीका योजना कार्यान्वयन हुन सकेका छैनन् । संक्रमण रोकथामका लागि पूर्वतयारी थाल्न मुख्यमन्त्रीले पटक–पटक मातहतका निकायलाई निर्देशन गरेपनि कार्यान्वयन निकै सुस्त देखिएको हो । हालसम्म प्रदेश भित्रिने सीमा नाकामा चेकजाँच र निगरानीको व्यवस्थासमेत गरिएको छैन ।

छिमेकी मुलुक भारतबाट कर्णाली फर्किएकाहरू निर्वाध रूपमा गाउँ जाने गरेका हुन् । यसले गर्दा संक्रमणको जोखिम थप बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन् । यस्तै, सरकारी कार्यालयले समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छैनन् । सुर्खेतस्थित सबैजसो सरकारी कार्यालय र सार्वजनिक स्थानमा सतर्कता न्यून छ । सेवाग्राहीको चाप हुने कार्यालयमा पनि भौतिक दूरी र मास्कको प्रयोगमा कडाइ नगरिएको हो । जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा स्वास्थ्य सुरक्षामा हेलचक्य्राइँ भइरहेको छ । जहाँ सेवाग्राहीको अत्याधिक भिड लाग्ने गर्छ । संक्रमणको जोखिम कम गर्न अन्य कार्यालयहरूले मापदण्ड पालना गरे÷नगरेको अनुगमन तथा नियमन गर्ने निकाय प्रशासनले नै जोखिमको बेवास्ता गरेको पाइएको छ ।साझा बिसौनीबाट