☰ open Loading... 14 December 2024|  

कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउँछः मुख्यमन्त्री शाही
  | २२ माघ २०७८, शनिबार ०५:३०

वीरेन्द्रनगर — कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले जानकारी दिए ।

 

‘अब धेरै कुर्नु पर्दैन, आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउनेछ,’ मुख्यमन्त्री शाहीले बताए । सरकार विस्तारका साथै अन्य महत्वपूर्ण काम र योजनाका विषयमा मुख्यमन्त्री शाहीले जानकारी दिएका हुन् ।

कर्णालीमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका ६ र समाजवादीका ३ प्रदेश सभा सदस्य छन् । जसमा माओवादीले ४, कांग्रेसले मुख्यमन्त्रीसहित ३ र एकीकृत समाजवादीले ३ मन्त्रालय पाउनुपर्ने प्रस्ताव राख्दैआएका थिए ।

सरकार गठनमा सत्ता गठबन्धनभित्र आपसी सहमति हुन नसकेपछि त्यसको टुङ्गो लगाउन केन्द्रलाई जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशसभाको कूल सदस्य सङ्ख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्छ ।

सरकारमा गठबन्धन दलभित्र कसको कति मन्त्री हुने भन्ने कुराको जानकारी पनि त्यसै दिन सार्वजनिक गर्ने भन्दै मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलभित्रको लामो गृहकार्यपछि कर्णाली सरकार आफ्नो लयमा अघि बढ्ने बताए ।रासस