☰ open Loading... 7 December 2024|  

कर्णाली सरकारको ऊर्जा मन्त्रालयले अहिलेसम्म पाएन सचिव
  | १ फाल्गुन २०७८, आईतवार ०५:१३

कर्णाली। कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय स्थापना कालदेखि सचिवविहीन अवस्थामा छ । ऊर्जा विकास मन्त्रालयको कर्णाली प्रदेश सरकारको सबैभन्दा कान्छो मन्त्रालय हो ।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्षतामा विसं २०७८ वैशाख २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् कार्य विभाजन नियमावली, २०७४ तथा प्रदेश सरकार कार्य सम्पादन नियमावली, २०७४ संशोधन स्वीकृति भए बमोजिम यस मन्त्रालय स्थापना भएको थियो । स्थापना भएदेखि भने उक्त मन्त्रालय निमित्तका भरमा चलिरहेको छ । मन्त्रालयका स्थापनासँगै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कार्यरत सिनियर डिभिजन इन्जिनियर धर्मेन्द्र झाले निमित्त सचिवको जिम्मेवारी दिइएको थियो । माघ २ गतेदेखि उक्त मन्त्रालयमै कार्यरत सिनियर डिभिनल इन्जिनियर गोपाल शर्माले निमित्त सचिवको जिम्मेवारीसम्हालेका छन् ।

“हाम्रो मन्त्रालयका लागि मौसम विज्ञान विभागमा कार्यरत जगदीश कर्माचार्यलाई मन्त्रालयको सचिवका रूपमा खटाएको तर उहाँले आफूलाई कर्णाली जान बाध्य पारेको गुनासो गर्दै नआउने जस्ता कुरा गर्नुभएको छ”, निमित्त सचिव शर्माले भने, “सिभिल इञ्जिनीयरिङतर्फको सचिव पठाउनुपर्नेमा सरकारले पनि किन फरक क्षेत्रमा कार्यरतलाई सचिव बनाउन खोजेको हो।

कर्णालीका लागि केन्द्र सरकारले यसअघि कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रालयमा फरक सम्बन्धित क्षेत्र नभई गुणस्तर तथा नापतौल विभागमा कार्यरत कर्मचारीलाई रामआधार साहलाई सचिव बनाएर पठाएको उनले बताए । निमित्त सचिव शर्माका अनुसार मन्त्रालयमा सिनियर डिभिजनमा चार दरबन्दी खाली रहेको र इन्जिनियर सात दरबन्दीमा एक जना मात्रै हुँदा काम गर्न जटिल भएको छ ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि निमित्त सचिवका भरमा चलिरहेको छ । कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा एक महिना अघि सरुवा भएपछि समस्या हुँदै गएको निमित्त सचिव निधिराज न्यौपानेले जानकारी दिए ।

“आर्थिक अख्तियारी छैन तर प्रशासनिक काम गर्दै आएका छौँ”, निमित्त सचिव न्यौपानेले भने, “यदि बेलैमा सचिव नआउने अवस्था हो भने हामी सबै कर्मचारीलाई तलब खानसमेत समस्या हुने देखिन्छ ।” उहाँका अनुसार सचिव नहुँदा विभिन्न अख्तियारीका कामहरूमा पनि बाधा पुगेको छ । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले सचिवका लागि पहल भइरहेको र अब तत्कालै आउने बताए ।