☰ open Loading... 26 January 2025|  

स्थानीय तहको निर्वाचनको तयारी तिव्र
  | ४ फाल्गुन २०७८, बुधबार १९:१६

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी प्रदेश निर्वाचन कार्यालय सुर्खेतले धमाधम काम थालेको जनाएको छ। अहिले कार्यालयले विभिन्न पालिकाहरुमा पुगेर त्यसक्षेत्रको स्थलगत अनुगमन लगाएका काम थालेको जनाएको छ। पूर्वीसुर्खेतमा निर्वाचन कार्यालयसहित जिल्ला सुरक्षा समितिको टोली पुगेर अति संवेदनशील स्थललगायत निर्वाचन कार्यालय रहने स्थानहरुको स्थलगत निरीक्षण गरेको जनाएको छ। सिम्ता गाउँपालिकाको निर्वाचन कार्यालय, मतदान स्थललगायत सम्भावित मतदान केन्द्रको अवलोकन गरी सुरक्षा अवस्थावारे टोलीले जानकारी लिएको छ। प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन सम्वन्धी कामहरु अगाडि बढिसकेको बताउनुभयो।

उहाँले सुर्खेतमा १३८ मतदान स्थल रहने र मतदान केन्द्र २७६ सम्म पुग्ने जानकारी दिदैं अव मतदाता नामावली सच्याउनुपर्ने, त्रुटि हटाउने काममा सहयोग गर्न पालिकाहरुसँग आग्रह गर्नुभयो। सुर्खेतको मतदाता यसपटक दुई लाख ४५ हजार पुग्ने निर्वाचन कार्यालयले जनाएको छ। यही फागुन १९ गते स्थानीय तहहरुमा मतदाता नामावली टाँस गरी त्रुटि हटाउने, नाम सच्याउने लगायतका कामहरु सकेपछि चैत चैत १३ गते अन्तिम नामावली प्रकाशित गरिने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताउनुभयो। सुरक्षालगायत अन्य कामका हिसावले निर्वाचन कार्यालय गाउँपालिकाको केन्द्रमै राख्न उपयुक्त हुने उहाँको सुझाव छ।

यस्तै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले नौ वटा वडा रहेको पालिकामा एउटामा बाहेक अन्य सवै वडामा सडक पहुँच पुगेको बताउनुभयो। उहाँले सवै मतदान केन्द्रमा गाडी पुग्ने हुँदा सुरक्षा चुनौती ठूलो नहुने जिकिर गर्नुभयो। अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा नं. ४ को बजेडीचौरमा मतदान स्थल रहेकोमा अहिले पालिका केन्द्र सरेर राकम झरेको हुँदा पालिका वा नजिकै रहेको सामुदायिक भवनमा निर्वाचन कार्यालय बनाउन उपयुक्त हुने बताउनुभयो। यस्तै सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जिल्लाका १३८ मतदान स्थल मध्ये २९ वटा सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको बताउनुभयो। यस्तै ७६ वटा संवेदनशील र ३३ वटा सामान्य रहेका भन्दै संवेदनशील स्थलमा सुरक्षा राम्रो दिनुपर्ने भएकोले अहिले अवलोकन गर्न आएको उहाँको भनाइ छ ।

सशस्त्र प्रहरीको रक्तकाली गणका प्रहरी उपरीक्षक विमल डाँगीले उच्च संवेदनशील र संवेदशील स्थल र केन्द्रलाई लक्षित गरी सुरक्षा फौज खटाइने जानकारी दिनुभयो। उहाँले विगतमा यी स्थानमा केही घटनापनि भएकोले आगामी दिनमा यस्ता घटना हुन नदिन सतर्क रहेको उल्लेख गर्नुभयो। यस्तै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सुरक्षा अवस्थालगायत अन्य पूर्वाधारका हिसावले निर्वाचन कार्यालय गाउँपालिकाको केन्द्रमै राख्नुपर्ने सुझाव दिनुभयो। निर्वाचन कार्यालयदेखि, मतदान स्थल र मतदान केन्द्रको पनि उच्च सुरक्षा दिनुपर्ने हुँदा निर्वाचनलाई सफल बनाउन सवैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सिम्तापछि अन्य पालिकाहरुमा पुगेर निर्वाचन कार्यालय, मतदान स्थल र केन्द्रहरुको सुरक्षा अवस्थाको वारेमा जानकारी लिइनेछ ।