☰ open Loading... 25 January 2025|  

बाँकेमा ६ महिनामा ४४ जना कुष्ठरोगका बिरामी भेटिए
  | ६ फाल्गुन २०७८, शुक्रबार ०५:२२

नेपालगञ्ज : साइनिङ अस्पताल, आईएनएफ बाँकेको आयोजनामा कुष्ठरोगका बारेमा बिहीबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । सो पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार भेषराज बस्नेतले स्थानीय सरकारले यो विषयमा प्राथमिकता दिनुपर्ने बताए । सीमामा कोरोना, मलेरिया लगायतका सरुवा रोगको परीक्षण भइरहेकाले भारतबाट संक्रमण भित्रिन नदिन नाकामा कुष्ठरोगको समेत परीक्षण गर्नुपर्ने उनले बताए ।

 

बाँकेमा गत ६ महिनामा ४४ जना कुष्ठरोगका बिरामी थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुस मसान्तसम्म जिल्लामा ४४ जना नयाँ बिरामी थपिएका हुन् । गत आर्थिक वर्ष २०७७/०७८ मा १ सय २८ जना नयाँ बिरामी थपिएका थिए ।

 

यस वर्ष थपिएका नयाँ बिरामीमध्ये सबैभन्दा बढी नेपालगञ्जका १३, कोहलपुरका ११ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक मानव नेपालीले बताए । उनका अनुसार जानकी गाँउपालिकामा ६, नरैनापुर र बैजनाथ गाँउपालिकामा ५/५, खजुरामा ३ र डुडुवामा १ जना नयाँ विरामी थपिएका हुन् । गत ६ महिनामा राप्तीसोनारी गाँउपालिकामा कुष्ठरोग देखिएको छैन ।

 

बाँके जानकी गाउँपालिका वडा नं. ३ मानपुरस्थित रहेको आईएनएफद्वारा सञ्चालित साइनिङ्ग अस्पतालमा गत ६ महिनामा ७४ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । बाँके, बर्दिया लगायत कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेको साइनिङ्ग अस्पतालका लेप्रोसी ईन्चाज मंगलबहादुर थारुले जानकारी दिए । भारतबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेको उनले बताए ।

 

आईएनएफद्वारा सञ्चालित साइनिङ्ग अस्पतालमा चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा ८ हजार ४ सय ३२ जनाले सेवा लिएका थिए । जसमध्ये ७४ जनामा नयाँ कुष्ठरोगी भेटिएका छन् । अशिक्षाको कमी, जनचेतनाको कमी, लाज, डरका कारण अझै पनि समयमै बिरामीहरु उपचार गराउन नआउने समस्या रहेको उनले बताए ।

 

नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ । तर बिरामीहरु खुलेर उपचार गराउन नआउँदा लक्ष्य पूरा गर्न चुनौती देखिएको छ । सरकारको उक्त अभियानलाई सघाउन बाँकेमा कुष्ठरोग भएका बिरामीहरुलाई उपचारमा ल्याउनेलाई ५ सय रुपैँया पुरस्कारको व्यवस्था पनि गरिएको छ । आगामी सेप्टेम्बरसम्म यो योजना सञ्चालनमा रहेको र सरकारले स्वास्थ्य संस्थाहरुमा कुष्ठरोगको उपचार निःशुल्क गर्ने गरेको साइनिङ्ग अस्पतालका इन्चार्ज थारुले बताए ।

 

उनले कुष्ठरोगको समयमै उपचार गराएमा अंगभंग हुनबाट बाँच्न सकिने बताए । छालामा रातो व फुस्रो नचिलाउने दाग भएमा, छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको, लगातार हात खुट्टा झमझम गर्ने, हातगोडाहरु पोल्ने र निदाएको जस्तो भएमा, अनुहारको छाला, कानको लोती बाक्लो हुने र चम्किलो देखिएमा, लगातार हातखुट्टाको मानपेशी कमजोर हुने जस्ता लक्षण देखा परे नजिकको स्वास्थ्य केन्द्र अथवा साइनिङ्ग अस्पतालमा गएर उपचार गराउन सकिने तथा औषधि निःशुल्क भइरहेको इन्चार्ज थारुले जानकारी दिए ।

 

नेपालमा सबैभन्दा बढी कुष्ठरोगका बिरामी कपिलवस्तु, बाँके र रुपन्देही जिल्लामा फेला परेका  छन् । जनसंख्या बढी भएकाले र उपचार गर्ने संस्था धेरै भएका कारणले पनि लुम्बिनी प्रदेशका यी ३ जिल्लामा बढी समस्या देखिएको हुनसक्ने इन्चार्ज थारुको भनाइ छ । भारतसँग सीमा जोडिएका जिल्ला भएकाले पनि आवतजावतमार्फत संक्रमण बढेको हुनसक्ने अनुमान गरिएको छ ।

 

संक्रमण भएको हातखुट्टालगायतका अंग अंगभंग हुन सक्ने भएकाले यो सरुवा रोगको नियन्त्रण जरुरी रहेको उनले बताए । त्यसका लागि सरकारले बनाएका रणनीतिको कार्यान्वयन गर्नुपर्ने, स्थानीय जागरुक हुनुपर्ने देखिएको उनको भनाइ छ । सो कार्यक्रममा यम बहादुर केसी, लोकेन्द्र बहादुर रोका क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।