जुम्ला । जुम्लालाई नेपालकै पहिलो अर्ग्यानिक जिल्ला घोषणा गरेको झन्डै १४ वर्ष बित्यो । २०६४ सालमा १४ औँ जिल्ला परिषद्बाट जुम्लालाई नेपालकै पहिलो अर्ग्यानिक जिल्ला घोषणा गरिएको थियो ।
विषादी प्रयोगको अन्त्य गर्ने, अर्ग्यानिक कृषि उत्पादन बढाउने, अर्ग्यानिक खेती विस्तार गर्ने र जुम्लाका कृषि बस्तुलाई ब्राण्डका रुपमा विकास गर्ने लक्ष्यले अर्ग्यानिक जिल्ला घोषणा गरिएको थियो ।
तर अर्ग्यानिक जिल्ला घोषणाको झन्डै डेढ दशक बितिसक्दा पनि जुम्लामा विषादी प्रयोग रोकिएको छैन । अर्ग्यानिक जिल्ला घोषणा भए पनि कार्यान्वयनको स्पष्ट नीति र नियमन गर्ने निकाय नहुँदा विषादी प्रयोग नरोकिएको पाइएको छ ।
जुम्लामा शुक्रवार सम्पन्न प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली संरक्षण दिवसका अवसरमा सहभागी किसानले अर्ग्यानिक जिल्ला घोषणा कागजमै सीमित भएको गुनासो गरेका छन् ।
न विषादी प्रयोग रोकियो, न अर्ग्यानिक उत्पादन बढ्यो । मार्सी धानमा बढ्दो ब्युटाक्लोरको प्रयोगले क्रमिक उत्पादन घट्दै गएको छ । जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले भने“अर्ग्यानिक जिल्ला घोषणाको १४ वर्ष बित्दा पनि कृषि क्षेत्रमा कुनै उपलब्धि देखिएन । देश विदेशमा जुम्ला प्राङ्गारिक जिल्ला भनेर प्रचार भए पनि विषादी प्रयोग बढको छ । क्षणिक लाभ दिने दाउँमा किसानका नाममा बिचौलियाले जुम्लाको पहिचान खतरामा पारी सके । तर सरोकारवाला मौन देखिन्छन् ।”
जुम्ली उत्पादन विदेश गएर अर्ग्यानिक नभएको पुष्टि भएका धेरै उदाहरण छन् । लुकीछिपी ब्युटाक्लोरको प्रयोग गर्ने धेरै छन् । जसले उत्पादन गिरावटदेखि अर्ग्यानिक जिल्ला घोषणामै सीमित भएको बुढ्थापाको भनाई छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले ब्युटाक्लोर प्रयोगले माटोको उर्वरा शक्ति ह्राससँगै पशुचौपाय, मानव स्वास्थ्यमा असर गर्ने र उत्पादनमा समेत गिरावट आउने भएकोले विषादी प्रयोगलाई रोक्न नीति निर्माण देखि कार्यान्वयनमा स्थानीय सरकारले जोड दिनु पर्ने बताए ।