☰ open Loading... 25 January 2025|  

स्थानीय तह निर्वाचनका लागि १० राजनीतिक दलद्वारा आयोगमा दल दर्ता
  | १० फाल्गुन २०७८, मंगलवार ०६:११

काठमाडौँ । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि हालसम्म १० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दल दर्ताका लागि यही फागुन १५ गतेसम्मको समय दिएकोमा आजसम्म १० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएको आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

दल दर्ताका लागि निवेदन दिने दलहरूमा जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी रहेका छन् ।

आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको सङ्ख्या भने १ सय ९ रहेको छ ।

मतदाता नामावली अद्यावधिक गर्न मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटि भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अव इमेल/फ्याक्सबाट समेत निवेदन दिन सकिने व्यवस्था आयोगले गरेको छ ।

यसैगरी यस अघि मतदाता परिचय पत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएकोले यही फागुन २० गतेभित्र निवेदन दिन सकिने छ ।