सुर्खेत ।कर्णाली प्रदेश सभा सामाजिक बिकास समितिले लक्षित वर्ग केन्द्रित नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । लक्षित वर्गका समस्याहरु संकलन गरी प्रदेश सरकारलाई सोही अनुरुपको निति निर्माण तथा बजेट तर्जुमा गर्न निर्देशन दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
जेष्ठ नागरिक, एकल महिला, दलित, अपांगता भएका ब्यक्तिहरु, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायतका समुदायले आफुहरुको पीडा सरकारले नसुनेको गुनासो पोखेका थिए । कर्णाली प्रदेशमा ब्याप्त बेरोजगारी समस्या, खस्किँदो शिक्षाको स्तर, सरकारी कामकाजमा आफुहरुले भोग्नु परेका असहजता जस्ता बिषयमा सहभागीहरुले खुलेरै गुनासो राखेको बताइएको छ ।
सरकारले आफुहरुलाई दिएको सामाजिक सुरक्षा भत्ता लगायतका सुबिधाहरु प्राप्त गर्न समेत कठिनाइ भोग्नुपरेको बताउँदै सहभागीहरुले आफुहरुलाई समाजमा आत्मसम्मानका साथ जीउन पाउने वातावरण तयार गर्न र त्यसै अनुरुपको कानुन निर्माण गरिदिनका लागि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीका गुनासो मेटाउँदै सामाजिक बिकास समिति अध्यक्ष देवी ओलीले लक्षित वर्गको लागि प्रदेश सरकारको तर्फबाट अहिलेसम्म भएका सकारात्मक कामलाई यथावत राख्दै समस्या समाधनका लागि थप नीति निर्माण र बजेट बिनियोजनमा सरकारलाई निर्देशन दिने प्रतिबद्धता जनाउनु भयो । `प्रदेश सरकारको ४ बर्षे कार्यकालमा कत्तिपनि काम नभएको होइन, तर हामिले सोचेजती काम हुन सकेको छैन´ अध्यक्ष ओलीले भन्नुभयो `अझै त्यसतर्फ ध्यान दिन समितिको तर्फबाट प्रदेश सरकारलाई निर्देशित गर्नेछौं ।´
संवाद कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश सभा सदस्यहरु सुशीलकुमार थापा, बदमी क्वारी बोहरा र सोशिला शाहीले समेत आफुहरु सम्बद्ध समितिसंग सम्बन्धित उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
बुधबार सुर्खेत बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा कलाकारहरु सारङ्गी बादक तिलक गन्धर्व, बाँसुरी बादक ज्ञानबहादुर नेपाली र गायक शेरबहादुर आचार्य `गाइने´ ले सारङ्गी र गीतको माध्यमबाट लक्षित वर्गका पीडा सुनाउनु भएको थियो ।
संसद सहयोग परियोजनाको सहकार्यमा र प्रदेश सभा सामाजिक बिकास समितिको आयोजनामा आयोजित कार्यक्रमको सहजीकरण सामाजिक बिकास समिती कर्णाली प्रदेशका सचिव राजेन्द्र पौडेल र मध्यपश्चिम बिश्वबिद्धालय सुर्खेतका उप-प्राध्यापक कमल लम्सालले गर्नु भएको थियो ।