☰ open Loading... 29 November 2024|  

जनतालाई कोभिड विरुद्धको खोप लगाउन प्ररित गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
  | १४ फाल्गुन २०७८, शनिबार ०५:२८

सुर्खेत — राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि र राजनीतिकर्मीहरूले शतप्रतिशत जनतालाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रेरित गर्नुपर्ने बताएका छन् ।

 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक एकदिने अन्तर्क्रियामा अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् । अहिले देशभर खोप अभियान चलिरहेकाले यसबारे समुदायलाई सचेत गराउन र सबैको पहुँचमा पुर्‍याउन सबै लाग्नुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित उक्त अन्तर्क्रियामा अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मीहरूलाई खोप अभियानका लागि आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

सरकारको तथ्याङ्क हेर्दा कोभिड विरुद्धको खोप उपलब्ध हुँदाहुँदै पनि लगाउन नमान्ने जनसंख्या उल्लेख्य रहेको भन्दै उनले खोप लगाउन जान जनतालाई प्रेरित गर्नुपर्ने सबैको जिम्बेवारी रहेको बताए । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू र प्रदेश सभाका सदस्यहरू पनि सहभागी थिए ।

‘अहिले कोभिड विरुद्धको खोप अभियान देशभर चलिरहेको छ । कतिपय ठाउँमा खोप लगाउन लक्षित समूह नपुगेको भन्ने छ,’ उनले भने, ‘कर्णाली प्रदेश र मधेस प्रदेशमा खोप लगाएकाको तथ्याङ्क राष्ट्रिय तथ्याङ्कभन्दा कम देखिन्छ। यसमा सरकारसँगै प्रदेश सभा सदस्य तथा स्थानीय जनप्रतिनिधिले खोप लगाउन आफ्ना जनतालाई प्रोत्साहित गर्नुपर्छ।’

त्यस्तै राजनीतिक पार्टीका कार्यक्रममा पनि खोप अभियानलाई एजेन्डा बनाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको सुझाव थियो । ‘जनप्रतिनिधिको व्यवहार आम नागरिकले अनुशरण गरेका हुन्छन् । तसर्थ शनप्रतिशत खोपको मात्रा पुर्‍याउन हाम्रो भूमिका महत्वपूर्ण हुन्छ,’ अध्यक्ष तिमिल्सिनाले भने ।