☰ open Loading... 20 January 2025|  

तीन वर्षमा झन्डै छ सय बालबालिका कुपोषित
  | १ चैत्र २०७८, मंगलवार ०५:२५

सल्यान । सल्यानका बालबालिकाहरूमा कुपोषणको दर बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखि पुससम्म १ सय ३८ बालबालिकामा कुपोषण देखिएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ११७ मध्यम शीघ्र र २१ बालबालिकामा कडा शीघ्र कुपोषित बालबालिका रहेका छन् । बाल विवाह, गरिबी, बेरोजगारी, कम उमेरमा बच्चा जन्माउनु, सन्तुलित खानपिनको अभाव, स्तनपानको कमी लगायतका कारण बच्चाहरूमा कुपोषण हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷७७ मा मध्यम कुपोषित १९४ र कडा कुपोषित २७ आर्थिक वर्ष २०७७ र०७८ मा १९६ मध्यम र २५ कडा कुपोषित बालबालिका फेला परेका थिए । चालु आर्थिक वर्षमा ११७ मध्यम र २१ कडा गरी तीन वर्षको बिचमा ५ सय ८९ बालबालिका कुपोषित फेला परेका छन् । चालु आर्थिक वर्ष सकिन अझै पाँच महिना बाँकी रहेकाले विगतका वर्षहरूमा भन्दा चालु आर्थिक वर्षमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्न सक्ने डिसीको भनाई छ ।

जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै जान थालेपछि १३ स्थानमा पोषण सुधार केन्द्र स्थापना गरिएको कार्यालयले जनाएको छ ।

कडा खालको कुपोषण देखिएका बालबालिकालाई एक महिनासम्म दैनिक २ प्याकेट खुवाउने गरी तयार पारिएको उपचारात्मक खानाको प्याकेट दिइन्छ । मध्यम खालको कुपोषण देखिएकालागि एक महिनासम्म प्रतिदिन एक प्याकेट उपचारात्मक खानाको प्याकेट उपलब्ध गराइने सूचना अधिकारी डिसीले जानकारी दिए ।

“यसबाहेक घरको खाना पनि नियमित खुवाउनुपर्छ । एक महिनापछि सुधार पुनः जाँच गरेर सुधार भएमा उपचारात्मक खाना बन्द गरिन्छ । नभएका निगरानी वा खानाको मात्रा बढाइन्छ ।”, उनले भने ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार बालबालिकाहरूको ९० प्रतिशत बौद्धिक विकास ५ वर्षमुनिकै उमेरमा भइसक्छ । अझ ८० प्रतिशत बौद्धिक विकास २ वर्षभित्रै भइसक्छ । यही उमेरमा बालबालिकाहरू कुपोषित भएका शारीरिकसँगै बौद्धिक विकासमा ठूलो असर पर्ने स्वास्थ्यकर्मी बताउँछन् । कुपोषणकै कारण बालबालिकाहरू सुस्त मनस्थितिका समेत हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ ।