☰ open Loading... 18 January 2025|  

चुनावी गतिविधिमा बालबालिका प्रयोग नगर्न प्रशासनको ध्यानाकर्षण
  | ११ चैत्र २०७८, शुक्रबार ०५:४२

जुम्ला । निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचन तोके सँगै गाउँ गाउँमा चुनावी सरगर्मी बढ्न थालेको छ । गाउँ गाउँमा भेला आमसभा, सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यसैबीच बिहीबार जुम्लामा चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

जुम्लाका मानव अधिकारकर्मीहरू द्वारा बिहीबार सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र दिइएको हो । राजनीतिक दलहरूबाट चुनावी प्रचारप्रसार गर्ने क्रममा विद्यालय र बालबालिकाको प्रयोग नगरियोस् भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गराइएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनुभयो ।

राजनीतिक दलहरूले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने र पठनपाठन प्रभावित हुने गरी विद्यालयमा आम सभा गर्ने लगायत चुनावी कार्यक्रम गर्ने भएकोले यस्ता चुनावी गतिविधिमा बालबालिकाको प्रयोग रोक्न  माग गर्दै मानव अधिकार रक्षक सञ्जालले सहायक प्रमुख जिल्लासमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हडताल, बन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।

यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदि कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिबाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ मा बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न गर्न नहुने उल्लेख गरिएको भएपनि सो कुराको कार्यान्वयन फितलो हुँदा बालबालिकाको अधिकार कुण्ठित हुनुका साथै विद्यालयमा नै राजनीतिक गतिविधि हुने पुरानो दृष्टान्त रहेको हुँदा यस विषयमा ध्यान दिन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रिजालले विषय निकै गम्भीर रहेको र यसको समाधान खोज्न आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने बताउनुभयो ।

उहाँले निर्वाचनमा बालबालिकाको प्रयोग र विद्यालयमा राजनीतिक गतिविधि रोक्न तथा निर्वाचन आचारसंहितालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो यसै गरी सञ्जालको जिल्लास्थित राजनीतिक दलहरूको पनि ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको छ ।

मानव अधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राजबहादुर महतले सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा मानवअधिकार रक्षक सञ्जालका संयोजक राजबहादुर महत, पत्रकार महासङ्घ जुम्ला अध्यक्ष नेत्रबहादुर शाही, इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल, नगर बाल सञ्जाल अध्यक्ष आकृति न्यौपाने र अल्पकालीन महिला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवती श्रेष्ठसहित पत्रकारहरूको सहभागिता रहेको थियो ।