☰ open Loading... 7 December 2024|  

वृद्धा भत्ता बुझ्न चार घण्टा पालो कुर्नुपर्ने
  | १७ चैत्र २०७८, बिहीबार ०५:३२

बाँके, । चैत महिनाको चर्काे घाम । हातमा लौरो । खल्तीमा नागरिकता बोकेर बैंकको लाइनमा थिए ७१ वर्षीय मन्तुक खतिक । बिहान ७ बजे घरबाट हिँडेका खतिक ८ बजे सम्झना बजारमा रहेको बैंकमा पुगेका थिए । आठ बजे लाईनमा बसेका खतिक ५ घण्टासम्म लाइनमै बसे । तर पालो भने आएन । दिउँसो १२ बजेको चर्काे घाम त्यहि घाममा भत्ता बुझ्ने पालो कुरी रहेका थिए । उनी अहिले राम्रोसँग हिँड्न सक्दैनन् । तर पनि भत्ता बुझ्न घर देखि अटो चढेर बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ सम्झना बजारमा रहेको एन आइ सी एशिया बैंकसम्म आएका थिए ।

उनले भने ‘घरमा समस्या हुन्छ, पैसा लैजान बैंकमा आयो चार पाँच घण्टा पालो कुर्नुपर्छ । सरकारले भत्ता दिँदा हामी धेरै खुशी छौं । तर अहिले बैंकमा दिने गर्दा धेरै दुःख पाएका छौं । उमेरले नेटो काट्यो । हिँड्न सकिँदैन । पहिला घरमा आएर दिन्थे । अहिले बैंकमा लाइन लाग्नुपर्ने बाध्यता छ ।’

 

त्यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ८ का स्थानीय काशिराम थारुले दुःख सुनाउँदै भने, ‘भत्ता बुझ्न साइकलमा बाबालाई बोकेर बैंकमा ल्याए । गत वर्ष भैँसीलाई पराल हाल्न जाँदा बाबाको लडेर खुट्टा भाँचियो । म मात्र भत्ता लिन आउँदा पैसा दिँदैनन् । बाबालाई सँगै ल्याएर आउनुस् भनेर कति पटक रित्तो हात घर फर्के ।’ उनी थप्छन्, ‘बुबा आफु मात्र बैंक आउन सक्ने अवस्था छैन् । त्यसैले पनि बोकेर हुन्छ या साइकल वा अन्य सवारी साधानमा बैंकसम्म बाबासँगै भत्ता बुझ्न आउने गरेको छु ।’

 

सामाजिक सुरक्षा भत्ता लिन सम्झना बजारमा रहेको एन आइ सी एशिया बैंकमा बुधबार धेरै वृद्धावृद्धाहरु पालो कुरेर बसेको देखिन्थे । अहिले बैंकमा भत्ता बुझ्न आउन गाह्रो भएको उनीहरुको गुनासो छ । उनीहरुले पहिलाकै जस्तै घरमै पुगेर भत्ता दिने व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।