☰ open Loading... 25 January 2025|  

घरेलु हिंसाका घटनामा मिलापत्र बढी
  | १८ चैत्र २०७८, शुक्रबार ०५:१०

बाँकेमा घरेलु हिंसाका उजुरीमा मुद्दा दर्ता भन्दा पनि मिलापत्र बढी हुने गरेका छन् । बाँके प्रहरीमा चालु आर्थिक वर्षमा घरेलु हिंसाका ५ सय २६ उजुरी परेका छन् । तीमध्ये ६४ मुद्दामात्रै अदालतसम्म पुगेका छन् भने २ सय ६२ हिंसाका घटनामा मिलापत्र भएको बाँके जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

पहिला न्याय चाहियो भनेर आउने, पछि कतिपय महिला छलफलपछि आफैं मिलापत्र गर्न तयार हुने प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक दिलसरा राना क्षत्रीले मध्यान्हलाई जानकारी दिइन् ।

 

जिल्ला बारका पूर्वअध्यक्ष तथा अधिवक्ता विश्वजित तिवारीले हिंसाका घटनालाई कानूनले फौजदारी अपराधका रूपमा व्याख्या गरेको बताउँदै पीडित महिलाहरू आफ्नै परिवारविरुद्ध मुद्दा दर्ता गर्न डराउने गरेकाले कतिपय घटना मिलापत्रमा टुंगिने गरेको बताए । त्यसैले मुद्दा नै चलाउनुपर्ने अवस्था नरहने उनको भनाइ छ ।

 

आफन्त, सामाजिक दबाब र एक्लोपर्ने डरका कारण हिंसामा परेका महिलाले नचाहेर पनि मिलापत्र गर्न बाध्य भएको अधिकारकर्मी केशव कोइरालाले बताए । समाजमा पहिलेदेखि चल्दै आएको परम्पराका कारण हिंसामा परेका महिला मिलापत्र गर्न बाध्य हुने गरेको उनको भनाइ छ ।