☰ open Loading... 25 January 2025|  

दैलेखमा एकीकृत समाजवादीका जिल्ला सचिव खड्का एमाले प्रवेश
  | ३ बैशाख २०७९, शनिबार ०५:१३

दैलेख : नेकपा (एकीकृत समाजवादी)का दैलेख जिल्ला सचिव मानबहादुर खड्का एमाले प्रवेश गरेका छन्। शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्का एमाले प्रवेश गरेका हुन्।

उनले विज्ञप्ति जारी गर्दै २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको र उक्त जिम्मेवारी आजैबाट छोडी नेकपा एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको उल्लेख गरेका छन्।

‘पार्टी विभाजनका कारण नेकपा एमालेभन्दा बाहिर रहनु भएका सबै कमरेडलाई पार्टी एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि नेकपा एमालेमा गोलबद्ध हुन आह्वान गर्छु’, खड्काले विज्ञप्तिमा भनेका छन्।

खड्कालाई नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतका नेताले उनलाई नेकपा एमालेमा स्वागत गरेका थिए।

खड्कालाई स्वागत गर्दै एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले नेकपा एमालेले दैलेखका ११ वटै स्थानीय तहमा आफ्नो विजय सुनिश्चित हुने गरी काम गरिरहेको बताए।