☰ open Loading... 26 January 2025|  

जुम्लामा छोरीको सुरक्षा कार्यक्रममा दुई हजार बढी समेटिए
  | ६ बैशाख २०७९, मंगलवार ०५:०९

कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रममा जुम्लाका दुई हजार दुई सय ६५ जना समेटिएका छन् ।२०७६ साउन पछि जन्मिएका जुम्लाका छोरीहरूको बैंक खाता समेटिएको तथ्यांक सार्वजनिक गरिएको हो ।

जुम्लाका आठैवटा स्थानीय तहले यो कार्यक्रम लागू गरेका छन् । छोरीहरूको बाबुआमाले जन्मेको ४५ दिनभित्र आवश्यक कागजात पूरा गरी बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको छ । एक दम्पतीको दुईजना छोरीले मात्र यो कार्यक्रममा समावेश हुन पाउने प्रावधान रहेको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ ।

बालविवाह न्यूनीकरण गर्न, उच्च शिक्षामा छोरीको सहज पहुँच पुर्‍याउन, आर्थिक, समाजिक, स्वास्थ्यलगायत चौतर्फी विकास गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले यो कार्यक्रमा लागू गरेको हो ।

सुरुमा एक हजार र मासिक पाँच सयका दरले २० वर्षसम्म छोरीको खातामा जम्मा एक लाख २० हजार रकम जम्मा हुने छ । कार्यक्रममा समेटिए पनि २० वर्ष नपुग्दै विवाह गरेमा भने सेवा सुविधा नपाउने प्रावधान रहेको छ ।