☰ open Loading... 25 November 2024|  

वीरेन्द्रनगरमा एमाले भन्छ, ‘जित सुनिश्चित छ’
  | २२ बैशाख २०७९, बिहीबार ०५:३९

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले घरदैलो अभियानलाई निकै आक्रामक तरिकाबाट अगाडि बढाएको छ । वीरेन्द्रनगर नगरपालिकाका करिब सबै वडामा घरदैलो अभियानलाई तिब्र रुपमा अगाडि बढाएको नेकपा एमाले वीरेन्द्रनगर कमिटी घरदैलो अभियान पछि अझै हौसिएको छ । वडास्तरका घरदैलो अभियानमा मतदाताको व्यापक साथ र सहयोग पाएपछि वीरेन्द्रनगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

वैशाख ३० को मिति नजिकिँदै गर्दा उम्मेदवारदेखि नेता र कार्यकर्ता सबैलाई बिहानदेखि साँझसम्म भ्याइ नभ्याइ भएको छ । घरदैलो अभियानमा सक्रियपूर्वक सहभागी भएका नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले वीरेन्द्रनगरका करिब सबै वडामा आफ्नो जित सुनिश्चित भएको बताए । प्रचार विभाग प्रमुख तिमिल्सेनाले भने, ‘अहिले देशभर एक खालको माहोल सिर्जना भएको छ । त्यसको प्रभाव सुर्खेतमा पनि परेको छ । सुर्खेतका ९ वटै पालिकामा नेकपा एमाले जितको नजिक पुगेको छ । वैशाख ३० को मितिलाई मतदाताले पर्खिएर बसेका छन् ।’

तिमिल्सेनाका अनुसार जिल्लाका सबै पालिकामा अहिले उत्साहजनक तरिकाबाट घरदैलो अभियान सञ्चालन भइरहेका छन् । साथै विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नेको लहर पनि सबैतिर चलिरहेको छ । घरदैलो अभियानमा भेटिएका मतदाताले सबैतिर हेर्दा अहिले नेकपा एमालेको नै चर्चा परिचर्चा भइरहेको हुँदा नेकपा एमालेको जित हुने बताए । नेकपा एमालेका नेता तथा कार्यकर्ता सबै एकढिक्का भएर टोलटोलमा पुगेर उम्मेदवारको हौसला बढाउनुका साथै मतदातालाई देशको विकासका लागि नेकपा एमालेमा मतदान गर्नुको विकल्प नभएको बताइरहेका छन् ।

बाँकी काम पूरा गर्न भोट दिनुहोस् – नगर प्रमुख पदका उम्मेदवार ढकाल
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख पदका उम्मेदवार मोहनमाया ढकालले आफू उपप्रमुख हुँदा शुरुवात गरेका धेरै राम्रा कार्यक्रमहरुलाई पूरा गर्न र वीरेन्द्रनगरको मुहार फेर्नका लागि आफूलाई भोट दिन आग्रह गर्नुभएको छ । उहाँले कर्णाली प्रदेशको राजधानीको नगरपालिकाले पहिलो पटक महिला र युवा नगर प्रमुख पाउन लागेकाले यो अवसर नगुमाउन समेत मतदातालाई आग्रह गर्नुभयो ।

कोरोना संकटको घडीमा समेत आफूले वीरेन्द्रनगर नगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी पाएर नगरभित्रको संकट व्यवस्थापनलाई सहजै अवतरण गरेको अनुभव राख्दै ढकालले आफू वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि योग्य उम्मेदवार भएकाले विकास निर्माणका साथै सामाजिक परिवर्तनका लागि आफूमाथि पूर्ण भरोसा गर्न मतदातालाई आह्वान गर्नुभयो ।

‘वीरेन्द्रनगरको भूगोलका आधारमा योजना छ ’– नगर उपप्रमुख पदका उम्मेदवार खनाल
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार नीलकण्ठ खनालले वीरेन्द्रनगर नगरपालिकाका सबै वडाको भूगोलका बारेमा आफूलाई जानकारी भएकाले सोही अनुसार योजनातर्जुमा गर्न सक्ने दाबी गर्नुभएको छ । मतदाताहरुलाई आफूले सफलतापूर्वक एक कार्यकाल वडाको विकास निर्माण र सामाजिक परिवर्तनका लागि कुशलतापूर्वक काम गरेको अनुभव भएका कारण पनि उपप्रमुख भएर समग्र नगरपालिकाको विकासे योजनासहित अगाडि बढ्न सक्ने क्षमता भएकाले आफूलाई मतदान गर्न मतादासमक्ष आग्रह गर्नुभयो ।

वीरेन्द्रनगरको मुहार फेर्नका लागि आफू सधै लागिरहेको र फेरि पनि लाग्ने बताउँदै खनालले मतदाताको शीर ठाडो हुने गरी आफूले काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । वीरेन्द्रनगर नगरपालिका अहिले १६ वटा वडामा विभाजित छ ।