☰ open Loading... 18 January 2025|  

आर्थिक समुन्नतिका लागि नगदे बाली उत्पादनमा जोड दिने कांग्रेस सुर्खेतको संकल्प
  | २२ बैशाख २०७९, बिहीबार १७:३९

वीरेन्द्रनगर, २२ बैशाख । नेपाली कांग्रेस सुर्खेतले आर्थिक समुन्नतिका लागि नगदे बाली उत्पादनमा जोड दिने संकल्प गरेको छ । सबल स्थानीय सरकार, समुन्नत गाउँ समुन्नत नगरको मूला नारासहित आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएको कांग्रेसले मतदाता समक्ष यस्तो संकल्प गरेको हो ।

कांग्रेसले कृषि तथा पशुजन्य उपजहरूको उत्पादन र उत्पादकत्व वृद्धिको गर्न कृषि तथा पशुपंक्षीजन्य उत्पादनलाई आयआर्जनको मेरुदण्डको रूपमा लिइनेछ र कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायीकरण गरी खाद्य तथा पोषण सुरक्षा, रोजगारी सिर्जना र गरीबी न्यूनीकरण प्रमुख माध्यमको रूपमा संचालित गर्ने संकल्प गरेको छ ।

संकल्प पत्रमा तुलनात्मक रूपमा लाभका बालीहरूको पहिचान गरी सम्भाव्य पकेट क्षेत्रको छनौट गरी उपयुक्त बालीको प्रवद्र्धन गर्ने, बीउ बिजन, फलफुल विरुवा तथा डालेघाँसको बीउ विरुवा जिल्लाभित्रै उत्पादनको लागि नर्सरी स्रोतकेन्द्रको स्थापना गर्ने, उन्नत जातको पशुपालन व्यावसायिक रूपमा प्रवद्र्धन गरी दूध, मासु, अण्डा र अन्य पशु उत्पादन वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।

यस्तै, सम्भाव्यताको आधारमा जिल्लालाई गाई÷भैंसीपालन, बाख्रापालन, कुखुरापालन, बंगुरपालन लगायतका पकेट क्षेत्रमा विभाजन गरी पशुपालन व्यावसाय विकासका कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक पशु विमा कार्यक्रम सञ्चालन गरी पशुपालन व्यावसायलाई अभिवृद्धि गर्ने, पशुसेवा प्रवाह तथा विकास कार्यक्रममा गैसस, नीजी क्षेत्र र समूहको परिचालन अवधारणा लागू गर्ने संकल्प गरेको छ ।

साथै, कांग्रेस सुर्खेतले कृषि तथा पशुपालन पेसामा व्यावसायीकरण गर्न कृषि तथा पशुपालन व्यावसाय विकास र विस्तारको लागि कृषि ऋणको व्यवस्था तथा विस्तारमा विशेष पहल गरि कृषि तथा पशुपालन व्यावसायमा महिला, दलित र अन्य लक्षित वर्गको सम्लग्नतालाई विशेष जोड दिने र कृषि तथा पशुपालनमा व्यावसायीकरणका लागि अगुवा कृषक विकास र परिचालनमा जोड दिने नीति अवलम्वन गरिने जनाइएको छ ।

संकल्प पत्रमा उन्नत पशुपालनको व्यावसायीकरण गर्न जिल्लामा कम्तीमा ९ वटा पकेट क्षेत्र निर्धारण गरी पशुसेवा तथा विकासका कार्यक्रम सञ्चालन गर्ने, जिल्लाको सदरमुकाममा एउटा शीत भण्डार र प्रत्येक पालिकामा त्यहाँको आवश्यकता अनुसार एक–एक वटा शीतभण्डार स्थापना गर्ने उल्लेख गरिएको छ ।