☰ open Loading... 20 January 2025|  

विद्यालय सिकाईमा विज्ञलाई ‘अतिथी शिक्षक’ आमन्त्रण गर्ने खड्काको वाचा
  | २२ बैशाख २०७९, बिहीबार १७:४७

वीरेन्द्रनगर, २२ बैशाख । विद्यार्थीको ज्ञान, सीप र उत्प्रेरणाका लािग विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक’ का रुपमा आमन्त्रण गर्ने नेपाली कांग्रेसले वाचा गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस वीरेन्द्रनगर नगरपालिकाले शैक्षिक क्षेत्रको विकासमा ६ बुँदे प्रतिवद्धता जनाएको हो । नगरप्रमुख पदका उम्मेदवार उपेन्द्र खड्का नेतृत्वको उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै कांग्रेसले हरेक विद्यालयमा विद्यार्थीले सिकेका कुरालाई आफ्ना अभिभावक र आम नगरवासीसम्म पु¥याउन ‘सिकाई मेला’ आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।

यस्तै, शैक्षिक विकासका लागि कांग्रेसले सार्वजनिक विद्यालयमा पढाईको गुणस्तरमा सुधार गर्दै भौतिक पूर्वाधार सम्पन्न बनाउने, विद्यालयमा निर्माण हुने संरचना अपाङ्गमैत्री र लैङ्गिकमैत्री बनाउने प्रतिवद्धता गरेको छ ।

विभिन्न पेशा र व्यवसायमा संलग्न स्थानीय र राष्ट्रिय व्यक्तित्वलाई विद्यार्थीसँग जोड्न ‘विद्यालयमा एक दिन’ कार्यक्रम सञ्चालन गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिने वाचा पत्रमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएमा प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिंदै ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयन गर्नुका साथै जनप्रतिनिधि, स्थानीय र अभिभावक रहेको ‘विद्यालय सहयोगी समूह’ गठन गरि सोही अनुसारको कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यस्तै, प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने, खेल क्षेत्रको विकास, खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय प्रतियोगिताहरु नियमित सञ्चालन गर्ने, हरेक विधाका उत्कृष्ट खेलाडीलाई प्रोत्साहन गरी बाह्य प्रतियोगितामा सहभागिताका लागि आवश्यक तयारी गर्ने नगरप्रमुख पदका उम्मेदवार खड्काको प्रतिवद्धता छ ।