☰ open Loading... 4 December 2024|  

छत नहुँदा खुल्ला चौरमै पढाई
  | १८ जेष्ठ २०७९, बुधबार ११:५३

विद्यालयको छत नहुँदा विद्यार्थीहरु खुल्ला चौरमै पढ्न बाध्य भएका छन्। जेष्ठ ६ गते साँझ आएको हावाहुरीका कारण वीरेन्द्रनगर नगरपालिका–१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका हुन्।

हावाहुरीले झ्यालभन्दा माथिको बान्नोसहित टिन उडाएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए। हावाहुरीले ४ वटा कोठाको टिन उडाउनुका साथै बान्नोसमेत भत्काएको छ। भवन बस्न लायक नभएपछि विद्यालयहरुलाई चौरमै बसालेर पढाउनुपरेको प्रधानाध्यापक खड्काले बताए। गर्मीमा चौरमै विद्यार्थीहरु बसेर पढ्नुपर्ने बाध्यता रहेको छ। भवन निर्माण हुन नसक्दा चौरमै बसेर पढ्नुपर्ने बाध्यता रहेको कक्षा ५ का विद्यार्थी सुदिप आर्चायले बताए।

हावाहुरीले भत्काएको बान्नोसहित परिपरि विममा नट हाल्ने र क्रसिङ नटले बरिपरि पुरै कस्ने, दुई सरियाले परिवरि ताईपिङ हालेर ४ फिटको बान्नो उठाएर त्यसमाथि सुली उठाएमा टिन माथि बलियो गरि च्याप्नका लागि करिव ५ लाख खर्च आउने आंकलन विद्यालयले गरेको छ।

वीरेन्द्रनगरकै विकट स्थानमा रहेको विद्यालय हो। हावाहुरीले पाता उडाएको यतिका समय वित्दा समेत मर्मतसम्भार गर्ने आर्थिक श्रोत नहुँदा अन्यौलमा रहेको छ। वीरेन्द्रनगर नगरपालिकाले मर्मतमा चासो नदिएको स्थानीयहरुले बताए।