☰ open Loading... 20 April 2024|  

कार्यालय सहयोगीबाट वडाध्यक्ष
  | १९ जेष्ठ २०७९, बिहीबार १०:५३

दाङ — वडा कार्यालयमा काम लिएर पुगेका सेवाग्राहीले पहिले कसलाई भेट्छन् ? सोझो जवाफ हुन्छ– कार्यालय सहयोगी । मिठो बोल्ने, काममा सघाउने कार्यालय सहयोगी नै वडाका जनप्रतिनिधि बन्दा के होला ? यसपटकको स्थानीय तह निर्वाचनमा प्रदेश १ र लुम्बिनीका दुई स्थानीय तहका कार्यालय सहयोगी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

 

 

ओखलढुंगाको चिशंखुगढी–५ मा नेत्र भट्टराई र दाङको राप्ती–८ मा चन्द्रबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

सेर्नाका भट्टराईले २०६६ मा एसएलसी पास गरे । प्लस टुमा फेल भए । त्यसपछि कमाउन लागे विदेश । तीन वर्ष कतार र दुई वर्ष मलेसिया बसेर केही पैसा कमाए । गाउँ फर्केर सानो होटल खोले । बुबा लक्ष्मी भट्टराई चिशंखुगढी–५ को वडा कार्यालयका सहयोगी थिए । तीन वर्षअघिको कुरा हो । २५ वर्ष सेवा गरेपछि बुबाले अनिवार्य अवकाश पाए ।

नेत्रलाई आफ्नो ठाउँमा जागिर खान भने । उनलाई जागिर खाने रहर थिएन । बुबाले मासिक दुई सय तलब हुँदादेखि त्यही जागिरले परिवार पालनपोषण गरेको सुनाए । ‘अहिले १५–१६ हजार रुपैयाँ तलब छ, जागिर खानुपर्छ’ भनेर सम्झाए । नेत्रले बुबाको वचन काट्न सकेनन् । जागिर खाए । वडामा कार्यालय सहयोगी पद भए पनि उनले कतिपय अवस्थामा वडा सचिवले गर्नुपर्ने कामसमेत गरे ।

वडाध्यक्ष कार्यालयमा नआएका कतिपय दिन सेवाग्राहीको कागजात तथा सिफारिस बोकेर नेत्र आफैं उनका घर र गाउँपालिका कार्यालय पुग्थे । वृद्धवृद्धा र असहायको कामलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्थे । वडामै काम गर्ने सिलसिलामा आफन्त पर्ने कांग्रेसमा आबद्ध एक नेतासँग वादविवाद भयो । यही निहुँमा उनलाई वडाबाट गाउँपालिका कार्यालयमा सरुवा गरिदिए । गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतले निकै हेपाहा व्यवहार गरे । कर्मचारीले गरेको व्यवहारले उनको मन दुख्यो । गएको दसैंअघि जागिर छाडे । उनले बोलेरो जिप किनेका थिए । आफैं चलाउँथे । चुनावको प्रसंग गाउँमा चल्न थाल्यो । नेत्र कुनै पनि पार्टीमा आबद्ध थिएनन् । उनले सेवा दिएका वृद्धवृद्धा, उनको गाडीमा चढ्ने यात्रु, गाउँलेले ‘तिमी चुनावमा उठ्यौ भने भोट हाल्थ्यौं नि,’ भने । चुनावको एक महिनाअघि उनलाई माओवादी केन्द्रले वडाध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव राख्यो । तर, उनको वडामा माओवादी पार्टीको संगठन कमजोर थियो । तैपनि आफूले खुसी पारेका सेवाग्राहीको मतको हिसाब गर्दा आस जाग्यो । मनोनयन दर्ताको मितिभन्दा पाँच दिनअघि उनले पार्टीबाट टिकट पाए ।

आफूसँगै साथीभाइ र बुबा लिएर घरदैलो अभियानमा निस्किए । धेरैले उनलाई पत्याएनन् । तर निकटतम प्रतिस्पर्धीभन्दा १ सय १५ मत बढी ल्याएर वडाध्यक्ष निर्वाचित भए । आफूले कार्यालय सहयोगी काम गरेको वडामा २९ वर्षका नेत्र वडाध्यक्ष बने ।

८ वटा वडा भएको चिशंखुगढीमा माओवादीका ३८ वर्षीय निशान्त शर्मा बाँस्तोला गाउँपालिका अध्यक्ष र कांग्रेसका ४४ वर्षीय सन्तोषबाबु थापा उपाध्यक्ष निर्वाचित भएका छन् । १ देखि ५ सम्मका वडाध्यक्षमा माओवादी, ६ र ७ कांग्रेस र ८ एमालेले जितेको छ । स्थानीय तहमा सत्ता गठबन्धन दलको उपस्थिति बलियो भएकाले आफ्नो वडाका लागि छनोट गरिने योजनालाई बजेट विनियोजन हुनेमा नेत्र ढुक्क देखिएका छन् । उनी कार्यालय सहयोगी हुँदाकै वडा सचिव हाल वडामा कार्यरत छन् । ‘मलाई भेट्दा पूर्ववडाध्यक्ष र अहिलेको वडा सचिव सबै जना अप्ठ्यारो मान्नुहुन्छ,’ नेत्रले भने, ‘तर म सबैलाई सम्मान गर्छु, नमस्कार गर्छु । उहाँहरूसँगै सल्लाह लिएर काम गर्ने योजना बनाएको छु ।’ आफ्नो कार्यकालमा वृद्धवृद्धालाई रेडियो दिने, दोसल्ला ओढाउने, फलफूल दिनेजस्ता क्षणिक लोकप्रियताका काम नगर्ने उनको भनाइ छ । अस्पतालदेखि टाढा र दुर्गमको वडा भएकाले पहिलो प्राथमिकता सडकलाई भरपर्दो बनाउन स्तरोन्नति गर्ने योजना छ ।

‘जो कोही बिरामी हुँदा आफ्नै घरदेखि अस्पतालसम्म गाडीमा जान मिलोस्,’ उनले भने, ‘वडा कार्यालयमा एउटा शौचालयसम्म छैन । पहिले त कार्यालयलाई नै व्यवस्थित गर्ने योजना छ । म सपना बाँड्दिनँ । सकिने खालको काम गर्नेछु ।’ उनकै गाउँलेहरू उनी कुनै पार्टीको नेता नभएर कार्यालय सहयोगी हुँदा गरेको असल सेवाकै कारण वडाध्यक्ष निर्वाचित भएको बताउँछन् ।

फरक भूमिकामा खुसी

चन्द्रबहादुर गुरुङ दुई महिनाअघिसम्म राप्ती गाउँपालिका–८ मा कार्यालय सहयोगी थिए । कार्यालय खुल्नुअघि नै पुगेर सरसफाइ गर्थे । दिनभर वडाध्यक्ष, सचिव र अन्य कर्मचारीलाई चियापानीको व्यवस्था गर्थे । बेलुका कार्यालय बन्द गरेर घरतिर लाग्थे । अहिले पनि उनी दिनहुँ त्यही कार्यालय जान्छन् तर फरक भूमिकामा । अहिले उनलाई कार्यालय सरसफाइदेखि चिया पुर्‍याउनेसम्मका काम गर्नु पर्दैन । आफैं सहयोगी भएको कार्यालयमा अहिले उनी वडाध्यक्ष भएका छन् ।

पाँच वर्षसम्म कार्यालय सहयोगी रहेको वडामा अध्यक्ष निर्वाचित भएपछि उनलाई सबैले उदाहरणीय पात्रका रूपमा हेरेका छन् । कार्यालय सहयोगी हुँदा कार्यालय सरसफाइदेखि सानातिना सिफारिसका पत्रहरू लेख्ने कामसमेत गरेका ३२ वर्षीय गुरुङले अहिले वडाको नेतृत्व गरेका छन् । स्थानीय तह निर्वाचनमा एमालेले वडाध्यक्षको टिकट दिएपछि उनी चैतमा जागिर छोडेर चुनावमा होमिएका थिए । आफैंले सहयोगीका रूपमा काम गरेको वडामा जनताको मन जितेर अध्यक्ष निर्वाचित हुन पाउँदा गर्वको महसुस भएको उनले बताए । ‘कार्यालय सहयोगी भएको वडामा अध्यक्ष भएर काम गर्ने जिम्मेवारी पाएको छु,’ उनले भने, ‘जनताले फरक भूमिकामा सेवा गर्न पठाएका छन् । म स्थानीयको चाहनाअनुसार काम गर्नेछु ।’

२०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर रानामगर वडाध्यक्षमा निर्वाचित भएपछि उनी कार्यालय सहयोगी नियुक्त भएका थिए । ‘पहिले अरूले अह्राएको काम गर्नुपर्थ्यो,’ गुरुङले भने, ‘अहिले आफूले योजना बनाएर चाहेअनुसार काम गर्न पाइएको छ ।’ तीन वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका उनले फेरि जाने सोच बनाइरहेका बेला कार्यालय सहयोगीको जागिर पाएका थिए । वडाध्यक्ष लड्न निवर्तमान अध्यक्ष रानामगरको समेत नाम सिफारिस भएको थियो । तर, अन्तिममा गुरुङको नाम उम्मेदवारमा छनोट भएको थियो । उनी कांग्रेसका प्रभाकरदेव चौधरीलाई १ सय ३४ मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनले ९ सय ५० र चौधरीले ८ सय १६ मत पाएका थिए । माओवादी केन्द्रका रामचन्द्र चौधरीले २ सय ६ मत प्राप्त गरेका थिए ।कान्तिपुर