☰ open Loading... 25 January 2025|  

१४ जना किसान पुरस्कृत
  | २५ असार २०७९, शनिबार ०५:२८

जुम्ला — जुम्लाका १४ जना किसान पुरस्कृत भएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्ला र कृषि विकास कार्यालय जुम्लाले गरेको मूल्यांकनमा किसानहरु पुरस्कृत भएका हुन् । उनीहरु सबैले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाए ।

 

कृषि कार्यालय तर्फबाट ७ र पशु सेवा कार्यालयका तर्फबाट ७ जना गरेर १४ जना किसान पुरस्कृत भएको पशु सेवा अधिकृत गोविन्दबहादुर महतले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं र जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले संयुक्तरुपमा किसानलाई पुरस्कार प्रदान गरे ।

जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका किसान पुरस्कृत भएको कृषि प्राविधिक लछिराम महतले जानकारी दिए । उनका अनुसार पुरस्कृत किसानले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन् ।

जुम्लाका व्यावसायिकरुपमा लागेका किसानको घरदैलोमा स्थलगतरुपमा प्राविधिक मूल्यांकन गरेर पुरस्कारका लागि छनौट गरिएको थियो । पहिले पहिले नक्कली किसानले पुरस्कार पाइराखेकोमा यो पटक सक्कली किसानले पुरस्कार पाएको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताए ।

मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताउँदै प्रमुख आचार्यले हरेक किसान निर्वाहमुखी नभइ व्यवसायमुखी खेती प्रर्णालीमा जोडिनु पर्नेमा जोड दिए ।