☰ open Loading... 25 January 2025|  

मुख्यमन्त्री शाहीले गरे ‘गोरेटो बार’ को उद्घाटन
  | ३० असार २०७९, बिहीबार १९:२७

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार वीरेन्द्रनगरमा ‘गोरेटो बार एण्ड रेस्टुरेन्ट’ को उद्घाटन गरेका छन् ।  झण्डै ३ करोड लगानीमा सञ्चालनमा ल्याइएको बारको मुख्यमन्त्री शाहीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कर्णालीमै पहिलोपटक उच्च क्वालिटी सहितको उक्त बार कलाकार हरि विष्ट र पत्रकार ज्योती कटुवालको सहकार्यमा सञ्चालनमा ल्याइएको हो ।

विष्ट नेपाली काँग्रेस सुर्खेत जिल्ला कार्य समितिका सहसचिव समेत हुन् भने उनका दर्जनौं गीतहरू चर्चित छन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले समग्र कर्णालीको विकासका लागि निजी क्षेत्रको पनि महत्वपुर्ण भूमिका रहेको भन्दै प्रदेशमै ‘हाई क्वालिटी’ का बार रेष्टुरेन्टले यहाँ आउने पर्यटकहरूलाई आरामदायी पूर्ण वातावरणको महसुश गर्न सक्ने बताए । त्यसका लागि ‘गोरेटो’ ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा उनले गरे ।

मुख्यमन्त्री शाहीले भने,‘अहिले पनि कर्णाली आउने जोकोही व्यक्तिहरुले वीरेन्द्रनगरमा राम्रो होटेल रेष्टुराँ र आरामदायी स्थान छैन भनेर गुनासो गर्ने गर्दछन् । अब यो गुनासो गोरेटोले कम गर्ने विश्वास व्यक्त गर्दछु ।’  बारको ओपनिङ सेरोमोनी शनिबार सम्म चल्नेछ । त्यसका चर्चित गायक हेमन्त शर्मा र थानेश्वर गौतम सुर्खेत आएका छन् । दुवैजना गायकले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

गोरेटो कर्णाली प्रदेशका नागरिकको लागि साँच्चै गोरेटो बन्ने छ,’ सञ्चालक हरि विष्टले भने, ‘गोरेटो हाम्रो कला, संस्कृति र सम्पदा सँगै सबैको सारथी बन्नेछ ।