सुर्खेत । जुम्लाको सिँजा गाउँपालिकाले हाटबजार लगाउने भएको छ । साउन १ गते आइतबार पालिकाले पालिकाको केन्द्र सिँजा–३ नराकोटमा हाटबजार लगाउने भएको हो ।
गाउँपालिकाको असार २६ गते बसेको कार्यपालिकाको बैठकले प्रत्येक महिनाको १ गते नराकोट बजारमा हाटबजार लगाउने निर्णय गरेको छ ।
पालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिँजा क्षेत्रमा उत्पादन भएका कृषि बस्तु र पुराना पुरातात्त्विक बस्तुको संरक्षण र प्रवर्द्धन गर्नको लागि पालिकाले उक्त निर्णय गरेको बताए ।
अध्यक्ष धितालले भने, ‘सिँजा सभ्यताको इतिहासमा छुट्टै पहिचान भएकाले यसको संरक्षण तथा पहिचानका लागि हाटबजारले संरक्षण गर्न सक्छ साथै सिँजा उपत्यकालाई बचाई राख्न र पुराना सम्पत्तिको संरक्षण गर्नको हाटबजारले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’
अध्यक्ष धितालका अनुसार सिँजा क्षेत्रमा उत्पादन भएका कृषि बस्तु, राडी पाखी, पुराना संस्कृतिहरू हाटबजारमा प्रदर्शन गरिने छ भने सिँजा क्षेत्रको खस सभ्यता र पहिचानलाई बचाउने उद्देश्य रहेको पालिकाको रहेको छ । साथै यस क्षेत्रमा रहेका विभिन्न ताल तलैया, खोला, नाला, मठमन्दिर आदीको संरक्षण गर्ने पनि हाटबजारको अर्को उद्देश्य भएको पालिकाले जनाएको छ ।