☰ open Loading... 19 June 2024|  

‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’
  | ९ श्रावण २०७९, सोमबार ०५:४९

 

दैलेख जिल्लाको पूर्वी भेगमा पर्ने एउटा सुन्दर गाउँपालिका हो भगवतीमाई गाउँपालिका । यो गाउँपालिकामा कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित छ । भगवतीमाई गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ । कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाई रहेका छन् । यस भेगमा खाद्यान्न, फलफुल सुन्तला, तरकारी, मसला बाली, बाख्रापालन, आलुखेती, भट्टमास प्रचुर मात्रामा गर्दै आइरहेका छन् भने, केरा, ओखर, मौरीपालन, टिमुर खेती, भैसीपालन आदि पनि केही रूपमा गर्दै आएका छन् । यस गाउँपालिकामा सात वटा वडाहरु क्रमशः पगनाथ, रुम, मेहेलतोलि, जथनाथ, कट्टि र वडाभैरवमा रहेका छन् । कृषि उत्पादन र पर्यटनमा निकै सम्भावना बोकेको यस गाउँपालिका अध्यक्ष गणेशबहादुर थापासँग पश्चिम नेपालले गाउँपालिकाको आगामी योजनासँग सम्बन्धीत रहेर केही जिज्ञासा राखेको छ । पालिका अध्यक्ष थापासँग पश्चिम नेपालका कार्यकारी सम्पादक यमराज बिष्टले गरेको कुराकानीको सम्पादित अंश :

 

गाउँपालिकामा कस्ता किसिमका योजानालाई पहिलो प्राथमिकता राखेर काम गरिरहनु भएको छ ? 

 

जनताले जनप्रतिनिधिका रूपमा विभिन्न जाति, समुदाय र समाजका समस्या समाधानका लागि आशा गरेर जिताउनु भयो । भोट दिनुभयो । स्थानीय तहमा स्थानीय सरकारमार्फत विकास हुनेमा विश्वास लिनुभयो । हामीले गाउँपालिकामा पूर्वाधारलाई नै अगाडि सारेका छौं । त्यससँगैसँगै कृषि, सिँचाइ, शिक्षा र अन्य विद्यालयको भौतिक पुर्वधारलगायत कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढिरहेका छौं । भगवतीमाई कृषि र पर्यटनमा प्रचुर सम्भावना बोकेको पालिका हो । दैलेखको पूर्वी यो क्षेत्रलाई हामी कृषि र पर्यटनबाटै चिनाउने योजनामा छौं । गाउँपालिकाले आफ्ना योजना तथा कार्यक्रममा पनि सोही लक्ष्यमा केन्द्रीत रहेर बनाइरहेको छ । पालिकाका युवालाई कृषि कर्ममा प्रोत्साहित गर्नेगरि हाम्रा योजनाहरु तय भएका छन् । त्यसैगरि हामीले पर्यटकीय क्षेत्रहरुको विकासलाई पनि पालिकाको साझा कार्यक्रम बनाएर अगाडि बढेका छौं ।

 

गाउँपालिकामा रहेका ठूला योजना तथा परियोजनाहरु के–के रहेका छन् ?

 

हाम्रो गाउँपालिकामा रहेको ठूलो योजना भनेको कृषि, वडामा सडक स्तर वृद्धि र खानेपानी रहेको छ । किसानहरुको लागी अनुदानका कार्यक्रम ल्याएका छौँ । हामीले पशुपालन गर्ने कृषकलाई अनुदान पनि दिने छौं । यो बर्ष बजेट फ्रिज जाने छैन । ६० देखि ६८ वर्षसम्म एकल पुरुषलाई पनि भत्ता दिने व्यवस्था गरेका छौँ । बडाभैरवदेखि पगनाथ हुँदै कट्टिसम्म रिङ रोड बनाउने योजनामा छौँ । कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै छौं । किसानले उत्पादन गरेका तरकारी तथा फलफूलको बजारीकरण गर्ने,  विदेशमा पलायन भएका युवाहरुलाई आफ्नै गाउँमा स्वरोजगार हुन हामीले कृषि ऋण दिलाउने विषयमा सहजीकरण गर्दैछौं ।

 

आफ्नो गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ?

 

भगवतीमाई गाउँपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको प्रचार प्रसार गरिरहेको छौँ । हामीले मुख्य गरेर मालिकामाई मन्दिरलगायत अन्य सम्भावना बोकेका धार्मिक क्षेत्रको प्रचार–प्रसार गरिरहेका छौं । मालिका मन्दिरसम्म जानलाई बाटो व्यवस्थापन गर्नका लागि केही बजेट छुट्याएका छौं । अहिले तत्कालका लागि १० लाख बजेट बाटोका लागि छुट्याएका छौ । भगवतीमाई रहेका अन्य पर्यटकीय स्थलको रूपमा रहेका विभिन्न ठाउँको प्रचार–प्रसार गरिरहेका छौं । यहाँका मौलिक पन बोकेका लहरे पांैचरी नाच, देउडा, रतेउलीलाई संरक्षण गर्ने हाम्रो योजना रहेको छ ।

 

नेतृत्वको रुपमा काम गर्दै गर्दा कर्मचारी प्रशासनको सहयोग कति पाउनुभएको छ ?

 

मुख्य कुरा जनप्रतिनिधिहरु अभिभावकको भूमिकामा रहने हुँदा काम गर्ने वातावरण हामीले बनाउनु पर्छ । कर्मचारीलाई काम गर भनेर दवाव दिएर हुँदैन । गाउँपालिकाको अध्यक्ष भएको हैसियतले यो कुरा मैले बुझ्नुपर्छ भन्ने लाग्छ । मैले व्यवस्थापन गर्न जान्नुपर्छ र निर्देशन दिनुपर्छ । काम गर्नेलाई मैले प्रोत्साहन दिने छु । सम्मान गरेको छु । तर, काम नगर्नेहरुलाई कारवाही पनि गर्छु । त्यसैले भगवतीमाई गाउँपालिकामा काम गर्ने वातावरण छ ।

 

गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, विकास, यातायात, कृषि क्षेत्रमा समृद्ध र आत्मनिर्भर बनाउन के–के योजना बनाउनु भएको छ ? 

 

म सधैँ जनताको सेवा गर्नको लागि राजनीतिमा लागेको र जीवनभरी जनताको सेवा गर्न पछि नहटने व्यक्ति हूँ । भगवतीमाई गाउँपालिकाका ७ वटै वडाहरुमा सहजरूपमा सवारी साधन पु¥याउने लक्ष्य रहेको छ । युवाहरुलाई पशुपालन र कृषिमा जोड दिएर व्यवसायी बनाउने, सफा खानेपानीको पहुँच पु¥याउने र सबै वडाहरुमा बिजुलीबत्ती लाइन विस्तार गर्ने र भगवतीमाई गाउँपालिका रहेका १ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थी कहिलेकाहीँ पढ्दा पढदै बिरामी भयो भने प्रदेश अस्पतालसम्म पुग्नलाई आर्थिक समस्या हुनसक्छ । हामीले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं । यस गाउँपालिकाभित्र उत्कृष्ट किसान छन् । उनीहरुलाई लक्षीत गरि पालिकाले अनुदानका कार्यक्रम ल्याएको छ । अनुदानमा माछा पालन, कृषि क्षेत्रमा किसानदेखि किसान कार्यक्रम छन् । कक्षामा शिक्षा, क्षेत्रमा नमुना कक्ष संञ्चालन गर्न अलिकति भएपनि अभिभावकसँग विद्यालयमा लगानी गर्न आग्रह गरेका छौँ । हामी यी कुराहरूमा विशेष प्राथमिकता दिएर लागेका छौं । स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा पर्याप्त बजेट दिने लक्ष्य छ ।

 

अत्यमा, गाउँबासीलाई के भन्न चाहनुहुन्छ ?

 

भगवतीमाई गाउँपालिकालाई समृद्ध र सुन्दर गाउँपालिका बनाउनका लागि सबैको सहयोग रहोस् भन्ने अपिल गर्न चाहन्छु । काम गर्दा समय लाग्छ, त्यसैले सबले धैर्य गरेर विकासको ढोका पर्खन आग्रह गर्दछु । गाउँपालिकाको विकासको लागि म रात दिन लागि पर्नेछु ।